सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, मङ्सिर २१ गते । अरनिको राजमार्ग अन्तर्गत कोदारी राजमार्ग स्तरोन्नतिमा १० अर्ब रुपियाँ खर्च हुँदासमेत उक्त सडकको अवस्था सुधार हुन सकेको छैन ।
नेपाली कांगे्रस सिन्धुपाल्चोक जिल्ला उपसभापति दार्जे लामाले २०७२ सालको भूकम्पले लथालिङ्ग पारेको कोदारी मार्गमा १० अर्ब रुपियाँ लगानी हुँदासमेत सुधार हुन नसकेको बताउनुभयो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव सन् २०१५ मार्चमा चीन भ्रमणमा जाँदा चिनियाँ राष्ट्रपति सी चिनफिङले अरनिको राजमार्ग स्तरोन्नति अन्तर्गत कोदारी सडक स्तरोन्नतिका लागि १४ अर्ब रुपियाँ दिने घोषणा गर्नुभएको थियो ।
उक्त घोषणा दुई मुलुकका राष्ट्रपतिस्तरको समझदारीपछि आएको थियो । सोही समझदारी अनुसार २५ अप्रिल २०१५ मा चिनियाँ जनमुक्ति सेना सदरमुकाम चौतारा आएका थिए । केही महिनासम्म उनीहरूले सडक मर्मतमा सहायता गरेका थिए । कोदारी राजमार्गमा चिनियाँ ठेकेदार निर्माण कम्पनी रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी) ले २०७३ देखि हालसम्म स्तरोन्नतिको काम गरिरहेको छ । २०७३ साउन १७ मा भोटेकोशी नदीमा आएको भीषण बाढीले कोदारी राजमार्ग पुनः लथालिङ्ग पारेको थियो । सिआरसिसीले पुनः उक्त राजमार्ग स्तरोन्नति गरेको थियो तर सडकको अवस्थामा अहिलेसम्म सुधार हुन नसकेको सीमावासीको आरोप छ ।
सिआरसिसीका साथै सडक डिभिजन कार्यालय चरीकोटले पनि कोदारी राजमार्ग स्तरोन्नतिको काम गर्दै आएको छ । सिआरसिसी र सडक डिभिजनले गरेको सडक स्तरोन्नतिको काम बालुवामा पानी खन्याए झैँ भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेप्टेम्बरमा आठदिने चीन भ्रमणमा जाँदा चीनले प्रधानमन्त्रीको प्रस्तावलाई सम्बोधन गर्दै चौथो पटक कोदारी राजमार्ग स्तरोन्नति गर्ने भएको छ ।
उपसभापति लामाले अरनिको राजमार्ग स्तरोन्नतिका लागि भनेर आएको १४ अर्बमध्ये १० अर्ब रुपियाँ खर्च भइसकेको भनिए पनि सडकको अवस्थामा भनेजस्तो सुधार नदेखिएको गुनासो गर्नुभयो ।
चिनियाँ ठेकेदार कम्पनी सिआरसीसीले नेपालको अर्थ मन्त्रालयसँग सम्झौता गरेर काम थालेको थियो । अर्थ मन्त्रालयको वैदेशिक समन्वय महाशाखा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागले सडक स्तरोन्नतिका काम हेर्ने गरेको छ । कोदारी राजमार्गको स्तरोन्नतिका लागि तीन चरणमा भएका कामको प्रगति सिआरसिसी, वैदेशिक समन्वय महाशाखा र सडक विभागसँग छ तर कोदारी राजमार्गको अवस्था सुधारमा केही प्रगति नदेखिएको कांगे्रस नेता लामाको आरोप छ ।