बाबुराम शर्मा
दोलखा, मङ्सिर २१ गते । डेढ करोडको लगानीमा निर्मित दोलखाको भीमेश्वर नगरपालिका–६, टागनागीको भ्युटावर प्रयोगविहीन बनेको छ ।
आयआर्जन तथा मनोरञ्जनसमेत हुने उद्देश्य राखेर निर्माण गरिएको भ्युटावरको व्यवस्थापन हुन नसक्दा अहिले प्रयोगविहीन बन्न पुगेको नगरका इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य संरचना निर्माण गर्न करिब सात वर्ष लाग्यो । टावर निर्माणमा भीमेश्वर नगरपालिका र पर्यटन विभागबाट बजेट विनियोजन हुँदै आएको छ । पर्यटन विभागको ३५ लाख रुपियाँ बराबरको बजेटमा सिमपानी पोखरीदेखि भ्युटावरसम्म जाने पैदलमार्ग निर्माण भएको छ । टावरसम्म पुग्नका लागि पर्यटकलाई असहजता हुने भएकाले देउरालीडाँडाबाट भ्युटावरसम्म सडकको ट्र्याक खोलिएको र त्यसको स्तरोन्नतिलाई पनि निरन्तरता दिइएको छ ।
स्थानीय गणेशबहादुर कार्कीले नगरपालिकालाई वार्षिक ५० हजार रुपियाँ दिने गरी केही दिन भ्युटावर सञ्चालनमा ल्याउनुभएको थियो । भ्युटावर घाटा लागेको भन्दै कार्कीले छोडेपछि बिनाभाडा सञ्चालन तथा संरक्षण गर्न उहाँलाई नै दिइएको थियो तथापि बत्ती, पानी र सरसफाइ सञ्चालकले नै गर्नुपर्ने, भौतिक संरचना थपघट गर्नु परेमा नगरपालिकासँग अनुमति लिनुपर्ने, नेपाल सरकारले निषेधित गरेका वस्तु बिक्री गर्न नपाइनेजस्ता सम्झौता गरिएको थियो । इन्जिनियर राउतका अनुसार भ्युटावर सञ्चालक कार्की विदेश पलायन भएपछि अहिले भ्युटावर अलपत्र परेको छ ।
२०६८ सालदेखि भ्युटावर निर्माण थालिएको हो । अन्तिममा उपभोेक्ता समितिमार्फत २० लाख रुपियाँमा शौचालय, प्रवेशद्वार, चमेना गृहलगायतका संरचना बनाइएको छ । निर्मित भ्युटावर करिब ५० फिट उचाइको पाँचतले रहेको छ । स्थानीय तहका आफ्नै सम्पत्तिबाहेकका निर्माणका काम सम्पन्न भएपछि समुदाय वा लाभग्राहीलाई नै बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । समुदाय वा लाभग्राही लिन तयार नभएपछि र नगरले आफैँले सञ्चालन गर्न नसक्ने भएपछि यहाँ निर्मित थुप्रै संरचना प्रयोगविहीन भइरहेका छन् ।
नगरपालिकाले दोलखाको चम्पुजा पार्क, मञ्जुश्री डाँडा हुँदै भ्युटावर, सिमपानी पोखरी र चरीघ्याङसम्मको रुटलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने योजना बनाएको बताइन्छ ।