छिन्चु समाचारदाता
सुर्खेत, मङ्सिर २१ गते । कर्णाली प्रदेश सरकार, सङ्घीय ससर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। भौगोलिक रूपमा विकट कर्णालीमा यस आर्थिक वर्षको कात्तिक मसान्तसम्म २७ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ । गत आवबाट दायित्व सरेका, टेन्डर भएका तर पूरा नभएका पुलको सङ्ख्या १५३ छ । यी सबै पुल निर्माणाधीन छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालयको आर्थिक सहयोग तथा प्रादेशिक प्राविधिक सेवा प्रदायक संस्था हुरुन्डेक कालीकोट र सेवक कैलालीको प्राविधिक सेवामा कर्णालीका १० वटै जिल्लामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । आव २०७८/७९ मा ७७ वटा पुल निर्माण गरिएको थियो । आव २०७९/८० मा १०७ वटा गरी २११ वटा पुल निर्माण गरिएको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।
प्राविधिक सहयोगकर्ता संस्थाका तर्फबाट कार्यक्रम संयोजक प्रयोग आचार्यका अनुसार चालु आवमा थप १५३ वटा पुल निर्माणाधीन अवस्थामा छन्। आव २०७८/७९ मा सङ्घीय ससर्त अनुदानबाट ६५ वटा पुल निर्माण भए । प्रदेश सरकारबाट १२ वटा पुल निर्माण भएका थिए । आव २०७९/८० मा निर्माण भएका १०७ वटा पुलमध्ये सङ्घीय ससर्त अनुदान अन्तर्गत पालिकाबाट ७४ वटा, प्रदेश सरकारमार्फत ३२ वटा र डोल्पाको काइके गाउँपालिकाले आफ्नै स्रोतबाट एउटा पुल निर्माण गरेको छ ।
अब कर्णाली प्रदेशका १० वटै जिल्लाबाट थप एक हजार पुल आवश्यक परेको भन्दै ७९ वटै पालिकाबाट प्रदेश सरकार र सङ्घीय सरकारमा माग भएको बताइन्छ। उहाँका अनुसार २०७९ चैतमा स्थानीय पूर्वाधार विभाग हरिहर भवन ललितपुरमा हुम्लाका स्थानीय तहबाट ५३ वटा, मुगुबाट ३९, डोल्पाबाट ६५, जुम्लाबाट ९४ र कालीकोटका पालिकाबाट ८६ वटा पुल निर्माणको माग भएको छ ।
यस्तै दैलेखमा ९८, सुर्खेतमा १३१, सल्यानमा ३९, रुकुमपश्चिममा २३ र जाजरकोटका पालिकाले ६७ गरी कुल ६९५ वटा पुल निर्माण गर्न उक्त विभागमा माग गरिएको छ । यसबाहेक प्रदेश सरकारले समेत झोलुङ्गे पुल निर्माणमा चासो देखाइरहेका कारण थप २९५ वटा पुल निर्माणका लागि यहाँ माग भइआएको छ । यी पुल निर्माण सम्पन्न भएको खण्डमा कर्णालीमा नागरिकलाई आवतजावत गर्न समस्या नहुने स्थानीय तथा प्रदेश सरकारको बुझाइ छ । यसका लागि कम्तीमा पनि पाँच अर्ब बजेट लाग्ने अनुमान छ । प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि गत आवको असार मसान्तसम्म कुल १७ करोड ६६ लाख १५ हजार खर्च गरेको छ । सङ्घीय सरकारले २४ करोड ८३ लाख २० हजार रुपियाँ खर्च गरेको छ । आव २०७८/७९ मा सङ्घीय सरकारले २७ करोड आठ लाख सात हजार विनियोजन गरेको थियो; जसमा २१ करोड ७७ लाख पाँच हजार रुपियाँ खर्च गरिएको छ । प्रदेश सरकारले १९ करोड २२ लाख ५० हजार विनियोजन गरेकोमा छ करोड खर्च गरेको गरेको छ । स्थानीय तहहरूले १३ करोड दुई लाख ७९ हजार विनियोजन गरेकोमा सात करोड नौ लाख ६८ हजार खर्च गरेका छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गल शाहीले प्रदेश सरकारले कर्णालीमा झोलुङ्गे पुल निर्माणमा चासो दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले निरन्तर रूपमा मन्त्रालय अन्तर्गत हरेक वर्ष पुल निर्माण गर्दै आइरहेका छौँ । सीमित बजेटका बिच पनि कर्णालीका नागरिकले यात्रा गर्दा कुनै कठिनाइ सामना गर्न नपरोस् भनेर पुल निर्माणलाई तीव्रता दिइएको हो ।”