• १२ साउन २०८१, शनिबार

जनस्वास्थ्यमा महत्वपूर्ण फड्को

blog

नेपालले मातृ तथा शिशु स्वास्थ्यलगायत जनस्वास्थ्यका अन्य विविध क्षेत्रमा जे जस्तो प्रगति गरेको छ, त्यसको ठुलो श्रेय सामुदायिक (महिला) स्वास्थ्य कार्यकर्तालाई जान्छ । नेपालमा करिब ५२ हजारको हाराहारीमा रहेका सामुदायिक स्वास्थ्य कार्यकर्ताले राष्ट्रिय स्वास्थ्य प्रणालीका करिब दुई दर्जन जनस्वास्थ्य कार्यक्रमलाई समुदायका लक्षित व्यक्ति र परिवारमा पुर्‍याउन मदत गरिरहेका छन् । विगत करिब साढे तीन दशकको अवधिमा महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताले स्वयम्सेवाको भावले जनस्वास्थ्यको प्रवर्धन गर्न पुर्‍याएको योगदान ठुलो छ । 

सन् २०१९ मा फैलिएको कोभिड महामारीले नेपालमा पनि करिब ४० हजारको ज्यान जान सक्ने प्रारम्भिक सर्र्वेक्षणले देखाएको थियो । उक्त सर्र्वेका आधारमा सरकार भयभीत भई उपचारात्मक सेवातर्फ बढी उत्प्रेरित भयो । समुदाय लक्षित जनस्वास्थ्यका प्रभावकारी कार्यक्रममा निकै कम ध्यान दियो । स्थिति सोचे जस्तो विकराल भएन । त्यसको कारण हाम्रो समाजमा विद्यमान सौहार्दता, स्वयम्सेवी भावनाले ओतप्रोत नागरिक चेत हुन सक्छ । रोगव्याधिको समस्या होस् या प्राकृतिक वा मानवसिर्जित विपत्ति हाम्रो समाजले एकअर्कालाई निःस्वार्थ सहयोग गर्ने संस्कारका कारण हजारौँ लाखौँ मानिसको गुणस्तरीय जीवन यापनदेखि गम्भीर स्वास्थ्य जोखिमबाट बचाउन सफल भएका छन् । त्यसबापत बचत भएको आर्थिक स्रोतसाधनलाई विकासका अन्य आवश्यकीय क्षेत्रमा लगानी बढाई गरिबी निवारणमा योगदान पुग्छ । 

विश्वव्यापी रूपमा सामुदायिक (स्वयम्सेवी) स्वास्थ्य कार्यकर्ता राख्ने वा नराख्ने विषयको छलफल हुने गरेको छ । नेपालले पनि सहरी क्षेत्रका सामुदायिक महिला स्वास्थ्य कार्यकर्ता उमेरको कारण निवृत्त भएपछि उक्त स्थानमा नयाँ नियुक्त नगर्ने नीति अवलम्बन गरेको छ । ग्रामीण क्षेत्रका त्यस्ता कार्यकर्ताको हकमा भने अहिले नहटाउने भनिएको भए पनि राज्यले उनीहरूको क्षमता अभिवृद्धि गर्ने तालिम, सन्दर्भ सामग्री तयार गर्ने र अध्ययन अनुसन्धान कम हुने गरेको छ । 

नयाँ स्वास्थ्य संस्था थप्ने, डाक्टर र पारामेडिक्सको उत्पादन र पदस्थापनमा बढी ध्यान दिएको देख्दा स्वास्थ्यको सर्वव्यापी पहुँचको नारा पूरा गर्न चिकित्सा सेवा मात्र भए पुग्नेतर्फ राज्यको बुझाइ रहेका हुन सक्छ । जबकि एउटा दक्ष चिकित्सकले एउटा घटना वा एक स्वास्थ्य समस्याको निदान र उपचार गर्छ भने सामुदायिक स्वास्थ्य कार्यकर्ताले मानिसलाई बिरामी नै नपर्नेतर्फ दीर्घकालीन महत्वका काम गर्छन् । नेपालले मातृशिशु स्वास्थ्यमा हाल प्राप्त गरेको सफलता त्यसको उदाहरण हो भने परिवार नियोजन, पोषण प्रवर्धन, वृद्ध नागरिक लक्षित स्वास्थ्य सेवा, हिंसापीडित लक्षित सेवा, सर्ने तथा नसर्ने रोगको उपचार र व्यवस्थापनलगायत करिब दुई दर्जनभन्दा बढी जनस्वास्थ्यका महत्वपूर्ण कार्यक्रम यिनै सामुदायिक स्वास्थ्य कार्यकर्ताको समेत सहयोगमा सञ्चालन गर्न सकिने उदाहरण विभिन्न देशले स्थापित गरेका छन् । 

त्यसो त विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रमका रूपमा नेपाललगायत विकासोन्मुख देशले अत्यन्त महत्वका साथ अघि बढाएको सामुदायिक (महिला) सुरक्षित प्रसूतिकर्मी कार्यक्रमले मातृ शिशुको जीवन रक्षा गर्न आशातीत प्रभावकारी नभएको भनी खारेज गरियो । उसो नेपाललगायत विश्वका कतिपय देशमा परम्परागत प्रसूतिकर्मीले पेसागत रूपमा घरमा हुने सुत्केरीलाई सघाउनेदेखि उनीहरूको स्याहार गर्दै आएका थिए । पछि तिनै र थप महिलालाई छनोट गरी निरन्तरको तालिम पछि दक्ष प्रसूतिकर्मी तयार पारिएको थियो । केही अपवाद छोडेर त्यस्ता सामुदायिक प्रसूतिकर्मीले सुरक्षित मातृत्व र शिशु स्याहारसम्बन्धी करिब दुई दर्जन सिप हासिल गरी दुर्गमका गाउँ बस्तीमा सेवा पु¥याउँदै आएका थिए । 

नेपालमा यो कार्यक्रमलाई थप व्यवस्थित गरी सञ्चालन गर्नुपर्नेमा केही सीमित अध्ययनको नतिजालाई आधार मानेर छोटो अवधिमा रोकियो । आज पनि गाउँघरमा तिनै विगतका प्रसूतिकर्मीले यसै सिपलाई जीवन निर्वाहको माध्यम बनाएको पाइन्छ । 

समाजका गरिब, सामाजिक मर्यादामा कमजोर अवस्थाका (प्रायः महिला) मानिस सामुदायिक (स्वास्थ्य) कार्यकर्ताका रूपमा कार्यरत भएको पाइन्छ । सामाजिक हैसियतका कारण उनीहरूले गरेका पुनित कार्यको पनि सही मूल्याङ्कन पनि नभएको र त्यसबापत पाउनु पर्ने आर्थिक तथा अन्य सामाजिक लाभबाट वञ्चित रहेका र आधुनिक प्रविधिका औजार जस्तै मोबाइल फोन, शिक्षण सिकाइका स्रोत सामग्रीको पहुँचमा कमी, बदलिँदो समय अनुसार प्रवाह गर्नुपर्ने सेवाको तालिम तथा अभिमुखीकरणबाट समेत वञ्चित छन् । 

विसं २०७७ मङ्सिर १४ गते नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा ५, १० र १५ शøयाका आधारभूत अस्पतालको एक साथ शिलान्यास गरेको थियो । दुई वर्षमा बनाई सक्ने लक्ष्य राखिएको उक्त योजनाका लागि ५८ अर्ब लाग्ने अनुमान गरिएको थियो । बिना तयारी लोकरिझ्याइँका लागि ल्याइएको उक्त कार्यक्रम असफल भयो । त्यसको सट्टामा बरु हरेक पालिकालाई उनीहरूको स्वास्थ्यको समस्या पहिचान गरी जनस्वास्थ्यका प्रतीकात्मक, प्रवर्धनात्मकका साथै हाल सञ्चालनमा रहेका स्वास्थ्य चौकीको सेवालाई बढी प्रभावकारी बनाउने तर्फ लक्षित कार्यक्रम ल्याउन सकेको भए सबै पालिकालाई अस्पतालको आवश्यकता पनि पर्ने थिएन । 

अर्कोतर्फ सबै स्थानमा चिकित्सा सेवाको विकास र विस्तार गर्न जे जस्तो आर्थिक तथा व्यवस्थापकीय जटिलता पर्छ, त्यसको निकै कम लगानीमा जनस्वास्थ्यका गतिविधि सञ्चालन गर्न सकिन्छ । यसको इतिहास अध्ययन गर्‍यो भने यस तथ्यलाई बुझ्न सकिन्छ । 

राज्य सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रमको प्रादुभाव सन् १८०० ताका सोभियत सोसलिस्ट रुसबाट भएको मानिन्छ । त्यस अवस्थामा छरिएका बस्ती, दक्ष स्वास्थ्यकर्मीको कमी जस्ता समस्याका कारण आममानिसलाई आधारभूत सेवा प्रदान गर्न कठिनाइ भएको हुँदा त्यस्ता दुर्गम बस्तीका सामुदायिक स्वास्थ्य कार्यकर्ता भई काम गर्न इच्छुक मानिसलाई तालिम दिन थालिएको थियो । रसियाको सिको गर्दै त्यस्तै प्रकृतिको जनशक्तिलाई ग्रामीण क्षेत्रमा खटाउने नीति चीनले सन् १९२० ताकादेखि अवलम्बन गर्‍यो । चीनले यस्तो जनशक्ति (जसलाई वियरफुटेड डाक्टर पनि भनिन्छ) निकै ठुलो सङ्ख्यामा तयार पारी सुरुमा तीन महिना र पछि छोटो पुनर्ताजगी तालिम दिएर देशैभरि परिचालन गर्‍यो । राज्यले अति महत्व दिएको कार्यक्रम भएको हुँदा यो कार्यक्रम सफल भयो । फलस्वरूप अस्पताल र आधुनिक चिकित्साकर्मीको सङ्ख्या सीमित हुँदासमेत मानिसको बिरामी हुने वा अकालमा मृत्युको दर निकै कम भयो । 

सन् १९६० को दशकमा ल्याटिन अमेरिकाका देशले समेत सामुदायिक स्वास्थ्य कार्यकर्ताको सेवा सुरु गरे । तत्कालीन अवस्थामा विश्वव्यापी रूपमा दक्ष चिकित्सक, नर्सलगायत अन्य विविध विद्याका स्वास्थ्यकर्मीको उपलब्ध सीमित भएको अवस्थामा सामुदायिक स्वास्थ्य कार्यकर्ताको माध्यमबाट उक्त लक्ष्य प्राप्ति गर्न ठुलो योगदान हुने उल्लेख गरियो । विश्वव्यापी लक्ष्य प्राप्तिका देशले नयाँ परीक्षण गर्दै गए । त्यसै क्रममा नेपाल, भारतदेखि ल्याटिन अमेरिका, अफ्रिकाका देशले परम्परागत सिप र केही आधुनिक ज्ञानसहितका स्थानीय जनशक्ति तयार पारी जनस्वास्थ्य क्रियाकलापको प्रवर्धनमा लगाए र त्यसको राम्रो प्रभाव पनि पर्‍यो । 

सन् १९८० को नेपालको महिला सामुदायिक स्वास्थ्य कार्यकर्ता कार्यक्रम, १९९२ मा पाकिस्तानले ल्याएको हेडी हेल्थ वर्कर कार्यक्रम, सन् २००५ मा भारतमा ग्रामीण स्वास्थ्य अभियान सञ्चालनका लागि खडा गरिएको आठ लाख स्वास्थ्य कार्यकर्ता (आशा) यिनै विश्व परिवेशको सिको थियो । 

सन् १९८० को दशकदेखि हरेक प्राथमिक स्वास्थ्य सेवा विस्तारको क्रममा धेरै देश स्वास्थ्य सेवाको विस्तारित सञ्जाल बनाउने क्रममा थिए । उक्त कार्यमा विश्व स्वास्थ्य सङ्गठन, विश्व बैङ्क आदि संस्थाले सघाएका पनि थिए । तत्कालीन अवस्थामा उच्च दक्ष जनशक्ति उत्पादन गर्न सम्भव नभएको हुँदा १५ महिने आधारभूत तालिमसहितको सामुदायिक स्वास्थ्य कार्यकर्ता तयार गर्न थालियो । उनीहरूलाई सहयोग गर्न स्थानीय स्तरमा स्वयम्सेवी कार्यकर्तासमेत तयारी गर्न थालियो । यो कार्यक्रम नेपालमा सफल पनि भयो तर त्यसको केही समयपश्चात् सहयोगी संस्थाले त्यस्तो जनशक्ति उत्पादन र क्षमता अभिवृद्धिमा गर्दै आएको लगानी रोक्ने रोक्ने नीति लिए । त्यसका लागि दुई वटा कारण दिइएको थियो, पहिलो यो कार्यक्रमले जनस्वास्थ्यमा थप प्रभावकारी सुधार ल्याउन सक्दैन । अर्को सामुदायिक कार्यकर्ता भनिए पनि तिनको सञ्चालन र व्यवस्थापनमा निकै खर्च लाग्ने भएकाले दक्ष जनशक्ति उत्पादनका लागि खर्च जुटाउन कठिनाइ भयो । त्यसको प्रत्यक्ष असर विकासोन्मुख देशमा क्रमिक रूपमा मातृशिशुलगायतका स्वास्थ्य कार्यकर्ताको विस्तार क्रम रोकियो । त्यसैको प्रभावमा नेपाललगायतका कैयौँ देशमा दक्ष प्रसूतिकर्ता (तालिम प्राप्त सुडेनी) कार्यक्रम रोकियो भने अरू नेपाल सरकारले आफ्नै बलबुतामा सञ्चालनमा रहेका कार्यक्रमको क्षमता अभिवृद्धिलगायत सुपरिवेक्षण र मूल्याङ्कन जस्ता क्रियाकलापमा पनि शिथिलता आयो । 

देशभरि फैलिएको सामुदायिक स्वास्थ्य कार्यकर्ता कार्यक्रम नेपालको स्वास्थ्यको अवस्था सुधारका लागि ठुलो सम्भावनाको क्षेत्र हो । यिनीहरूको प्रभावकारी परिचालनका लागि समयसापेक्ष कार्यकर्ताको पहिचान र छनोट, क्षमता अभिवृद्धि तालिम, कार्यक्रमसँग सम्बद्ध स्रोत सामग्रीको उपलब्धता, राज्यका सामाजिक गतिविधिमा उनीहरूको आबद्धतालाई सुनिश्चित गर्न सके हाल देखा परेका उच्च सङ्क्रामक, नसर्ने रोगदेखि मानसिक समस्याको प्रारम्भिक चरणमा त्यसको व्यवस्थापनमा ठुलो योगदान दिन सक्छन् । 

  

Author

सुदर्शन पौडेल