• १२ साउन २०८१, शनिबार

एनसेल सेयर खरिद बिक्री विवाद, हस्तान्तरण रोक्न निर्देशन

blog

एनसेलको सेयर खरिद बिक्री प्रकरणबारे छलफल गर्न बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकका सहभागी । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, मङ्सिर २१ गते । प्रतिनिधि सभाका दुई विषयगत समितिले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्री प्रक्रियाको छानबिन थालेका छन् । सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार प्रारम्भिक रूपमा नियामक निकायका प्रतिनिधिसँग छलफल गरेका हुन् । लेखा समितिले सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया नै रोक्न निर्देशन दिएको छ । अर्थ समितिले खरिद बिक्रीका सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

एकै विषय भए पनि दुई समितिले फरक फरक रूपमा नियामक निकायसँग छलफल गरेर निर्देशन दिएका हुन् । यसअघि सन् २०१६ मा भएको खरिद बिक्री प्रक्रियाको विवादमा पनि तत्कालीन तीन समितिले फरक फरक निर्देशन दिएका थिए । समन्वयमा बैठक राखेर छलफल चलाउन सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा भए पनि ती समितिले आआफ्नै ढङ्गबाट विषय प्रवेश र निर्णय गरेका हुन् । 

लेखा समितिले सेयर खरिद बिक्रीमा कानुनी व्यवस्था पालना नभएको, वास्तविक मूल्य कायम नभएको, पुँजीगत लाभकरका विषयमा पनि प्रश्न उठेकोतर्फ प्रश्न उठाएको छ । छ वर्षपछि कानुनतः नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई हालको खरिद बिक्रीले अनिश्चयमा धकेलेको पनि लेखा समितिको ठहर छ । खरिद बिक्रीका क्रममा नेपालमा लगानीको वातावरण नरहेको भन्ने सन्देशले संशय प्रदान गरेको पनि समितिले निर्णयमा उल्लेख गरेको छ । 

३० दिनभित्र सेयर खरिद प्रक्रियाको छानबिन गर्न र उक्त अवधिसम्म हालको प्रक्रियालाई यथास्थितिमा राख्न पनि समितिले निर्देशन दिएको छ । नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियटाको आरोपबारे सरकारको धारणा दुई दिनभित्र औपचारिक रूपमा सार्वजनिक गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले खरिद बिक्रीको छानबिन अगाडि बढाउने जानकारी यसअघि नै दिइसकेको छ । 

समितिले विद्यमान कानुनमा रहेको छिद्रको अन्त्य गर्ने गरी दूरसञ्चारसम्बन्धी कानुन संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । लगानीकर्ताको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुने गरी र आगामी दिनमा दुविधा नहुने गरी स्पष्ट खाकासहित संशोधन प्रक्रिया अगाडि बढाउन समितिले निर्देशन दिएको छ । संसद्को आउँदो अधिवेशनको प्रारम्भसम्म विधेयक दर्ता गर्न समितिले निर्देशन दिएको छ । 

समितिले विषय प्रवेशअघि विभिन्न नौ बुँदामा प्रश्न सोधेर जवाफ माग गरेको थियो । दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतको जवाफपछि समितिले छलफल थालेको थियो । यस्तै समितिले एनसेल खरिद बिक्रीलगायतका समसामयिक विषयमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समितिमा बोलाउने निर्णय पनि गरेको छ तर बैठकको मिति भने तय भएको छैन । 

समितिमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले खरिद बिक्री प्रक्रियामा केही कानुनी पक्षको पालना नभएको दाबी गर्दै त्यसमाथि छानबिन गर्ने बताउनुभयो । उहाँले मङ्गलबार प्रधानमन्त्री प्रचण्डले समेत सो विषयमा चासो राखेको जानकारी दिनुभयो । 

समितिमा अधिकांश सांसदहरूले सेयर हस्तान्तरणको प्रक्रिया छानबिनको टुङ्गो नलागेसम्म रोक लगाउन माग गरेका थिए । एनसेलको ८० प्रतिशत सेयर स्वामित्व हालै स्पेक्ट्रलाइट युकेले खरिद गरेको सार्वजनिक भएको छ । खरिद प्रक्रियाको जानकारी नियामक निकायलाई नदिएको, अस्वाभाविक रूपमा कम मूल्य कायम गरेको, करको दायित्वसम्बन्धी विवाद अदालतमा टुङ्गो नलाग्दै खरिद बिक्री सम्पन्न भएको जानकारी दिएको भन्दै विवाद सुरु भएको हो ।