फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर २० गते । नवौँ राष्ट्रिय खेलकुदमा भएको प्रतिस्पर्धाका क्रममा निधन भएका प्याराग्लाइडिङ खेलाडी निस्सीम थापाको परिवारले घटनाको निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी निस्सीम थापा फाउन्डेसन पोखराले दुर्घटनाबारे अध्ययन अनुसन्धान उचित तवरले नभएको भन्दै आपत्ति जनाएको छ ।
निस्सीमका बुवा एवम् फाउन्डेसनका अध्यक्ष प्रकाश थापाले प्याराग्लाइडिङ खेलका लागि सुरक्षाकाका आवश्यक पूर्वाधार नहुँदा निस्सीमले ज्यान गुमाउनु परेको दाबी गर्नुभयो । राष्ट्रिय खेलकुदका क्रममा असोज ३० गते सराङकोटबाट उडान भर्नेबित्तिकै निस्सीम थापा जमिनमा बजारिनुभएको थियो ।
घटनापछि नेपाल नागरिक उड्डयान प्राधिकरणले तत्कालका लागि देशैभर प्याराग्लाइडिङ उडानसमेत रोकेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले प्राधिकरणबाट उडानका लागि अनुमति नलिएको पाइएको थियो ।
उडान भरेको तीन मिनेटभित्रै उनको दुर्घटना हुनु, प्रतियोगिता भएको ठाउँमा आयोजक, सेफ्टी डाइरेक्टरहरू, एम्बुलेन्स, रेफ्री, तथा अन्य सम्बन्धित पक्षसमेत नभएको देखिएको भन्दै फाउन्डेसनका अध्यक्ष थापाले भन्नुभयो, “नेफा, ना पोखरा र प्याराग्लाइडिङ सङ्घ गण्डकीले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट उडान अनुमति नै नलिई राखेपसँग समन्वय गरी प्याग्लाइडिङ विद्यालाई खेलकुदमा समावेश गर्नु गैरकानुनी हो । यसको उचित छानबिन गर्दै दोषीलाई कारबाही होस् ।”
फाउन्डेसनले पोखरा रङ्गशालामा निर्माणाधीन पाइलट निस्सीमको सालिक चाडै तयार गर्नसमेत आग्रह गरेको छ । फाउन्डेसनका अध्यक्ष थापाले नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ (नेफा) का पदाधिकारीले लाखौँ दुरुपयोग गरेको दाबीसमेत गर्नुभएको छ ।