• ६ माघ २०८१, आइतबार

'असहायसँग मेयर' कार्यक्रमले विपन्नलाई राहत

blog

यादवराज पुरी

रौतहट, मङ्सिर २० गते । रौतहटको मौलापुर नगरपालिकाले सञ्चालनमा ल्याएको ‘असहायसँग मेयर’ कार्यक्रमले विपन्न वर्गलाई राहत पुगेको छ । उमेर पुगेकी छोरीको विवाहको लागि आर्थिक सहयोग गर्ने उद्देश्य राखी पालिकाले सञ्चालनमा ल्याएको उक्त कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भएका छन् । 

छोरीको विवाहमा खर्च अधिक हुनेहुँदा विपन्न वर्गका अभिभावकलाई ठुलो आर्थिक सङ्कट पर्ने गरेको कारण पालिकाले गरिब तथा विपन्न वर्गका छोरीको विवाहमा ३० हजार रुपियाँ सहयोग गर्दै आएको छ । केही दिनअघि पालिका प्रमुख रिना साह मौलापुर नगरपालिका –६ पथराका विजय गिरीको छोरीको विवाहमा सहभागी भई विवाह मण्डपमै ३० हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । सहयोगस्वरुप पाउनुभएको उक्त रकमले ठुलो राहत मिलेको परिवारले जनाएको छ ।

नगरपालिकाले अवलम्बन गरेको उक्त योजना तथा अभियान लोकप्रिय बन्दै गएको छ । पालिकाले आर्थिक वर्ष २०७९-०८० मा पालिकाभित्र रहेका विपन्न वर्गको उमेर पुगेका छोरीको विवाहको लागि ३० हजार रुपियाँका दरले ५० घरपरिवारलाई आर्थिक सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रम सुचारु छ । 

पालिका प्रमुख साहले नगरमा रहेका विपन्न वर्गका परिवारमा २० वर्ष उमेर पुगेका छोरीको विवाहमा गरिने आर्थिक सहयोगको लागि विवाहभन्दा एक साताअघि विवाहको निमन्त्रणा कार्डसहितको सम्पूर्ण विवरण पेस गरेपछि सो को छानबिन पश्चात् उचित ठहरिएमा रकम उपलब्ध गराइने बताउनुभयो ।  

गत असोज २९ गते निर्वाचन आयोगको निर्णय एवम् ३० गते गोरखापत्रमा प्रकाशित सूचनाबाट पदच्युत हुनुभएको पालिका प्रमुख साह आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत पुग्नुभएको थियो । गत कात्तिक २४ गते सर्वोच्च अदालतको फैसलापछि साहले पुनः कार्यभार सम्हाल्नुभएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा मौलापुर नगरपालिकाको प्रमुख पदमा साह दोस्रो पटक पनि निर्वाचित हुनुभएको थियो ।