• ६ माघ २०८१, आइतबार

केपी ओली कप विजेतालाई मधेश प्रदेशको पाँच लाख पुरस्कार

blog

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई सम्मान गर्नुहुँदै । तस्बिर : गोरखापत्र

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर २० गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई प्रोत्साहन स्वरूप पाँच लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ । 

जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै मुख्यमन्त्री यादवले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेशले ऐतिहासिक जित हासिल गरेको भन्नुहुँदै मधेश प्रदेश क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारको तर्फबाट नगद पाँच लाख रुपियाँ दिने घोषणा गर्नुभएको हो । 

आफू नेतृत्वको मधेश प्रदेश सरकारले खेलकुद विकासलाई मध्यनजर गर्दै आगामी कार्यक्रम बनाइएको मुख्यमन्त्री यादवले बताउनुभयो । यसका साथै उहाँले खेलाडीहरूलाई प्रोत्साहन गर्न खेलकुद विकासको लागि प्रदेशको आठवटै जिल्लामा खेलकुदको लागि बजेट समेत छुट्याइएको जानकारी दिँदै मुख्यमन्त्रीले खेलकुदको लागि आठवटै जिल्लामा प्रशिक्षकको समेत व्यवस्था गरिने बताउनुभयो । 

खेलकुदलाई मध्यनजर गर्दै उहाँले भन्नुभयो, ‘‘भारती प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको एक सय करोड रुपियाँ समेत खेल मैदान निर्माणमा खर्च गरी खेलकुद हब बनाउने योजना रहेको छ ।’’ 

खेल जगतमा नेपालको नाम उच्च राख्न खेलाडीहरूका लागि उचित प्रबन्ध मिलाउनु पर्ने भएकोले प्रदेश सरकारले खेलमा बढी ध्यान दिँदै प्रदेशको प्रत्येक जिल्लामा स्टेडियम निर्माणको लागि बजेट समेत छुट्याइएको समेत मुख्यमन्त्री यादवले बताउनुभयो । 

उहाँले प्रदेशमा खेलकुद ऐन बनाउनका लागि प्रदेश सभामा प्रस्ताव पठाएको जानकारी दिनुहुँदै खेलाडी खेलाडी टोलीलाई विश्वमा नेपालको नाम उच्च स्थानमा राख्न सफलता कामनासहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । 

विजेता टोलीका खेलाडीहरू मधेश प्रदेशका कप्तान हरिशंकर शाह, इमरान शेख,मायान यादव, अलिनकुमार साह,  पवन सर्राफ, राकेश कामत, विशाल सुस्लिङ, रोहन विक, विशाल पटेल प्रथिक यादव, रुपेश सिंह, सम्साद अन्सारी, प्रदीप पासवान, हिमांशु दत्त, कोच सुनिल साह र व्यवस्थापकमा बाबुजान अन्सारी हुनुहुन्छ । 

उक्त सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य रामाशील यादव एवम् प्रदेशका प्रमुख सचिव, खेलाडी लगायतको उपस्थिति रहेको थियो । पोखरामा मङ्सिर १५ गते भएको फाइनलमा मधेश प्रदेशले १० जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।