• १५ मंसिर २०८१, शनिबार

लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

blog

छविलाल पाण्डे 

बुटवल, मङ्सिर २० गते । बुटवलमा पुस ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय मेला हुने भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने मेलाले सुस्ताएको अर्थतन्त्र माथि उठाउन सहयोग पुग्ने मेला आयोजक रुपन्देही व्यापार सङ्घले जनाएको छ ।  

एक्स्पोको विषयमा जानकारी दिने उद्देश्यले बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पोको आयोजनाले व्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत गर्ने अपेक्षा लिएको बताउनुभयो । 

एक्स्पोमा पाँच सय बढी स्टल सहभागिता गराउने, १० लाख बढी दर्शकले अवलोकन तथा करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा सङ्घले लिएको जनाएको छ। 

अहिले एक्स्पो तथा मेला स्थल बुटवल मण्डपमा एक्स्पोको तयारीका कामहरू भइरहेको छ । एक्स्पोमा साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, मोबाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर लगायतका वस्तुहरू प्रदर्शनीमा राखिने भएको छ ।