• १२ असोज २०८१, शनिबार

ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान

blog

नयाँ सिफारिस भएका शिक्षकलाई स्थायी नियुक्तिपत्र प्रदान गरेपछिको सामूहिक तस्बिर । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २० गते ।
खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले शिक्षक विकास निर्देशनालय धनकुटाबाट सिफारिस गरिएका २३ जना शिक्षकलाई नियुक्तिपत्र प्रदान गरेको हो ।

ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकहरु विज्ञान, गणित र सामाजिक विषयका रहनुभएको छ । शिक्षक विकास निर्देशनालय धनकुटाबाट सिफारिस भएका सबै शिक्षकलाई मङ्गलबार स्थायी नियुक्तिपत्र प्रदान गरिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

जिल्लाका नौ स्थानीय तहमा रहेको विषय शिक्षक आवश्यकताको आधारमा कोटा विभाजन गरी शिक्षकहरुलाई ठाउँ (स्थानीय तह) रोज्नका लागि समय उपलब्ध गराइएको थियो । शिक्षकहरुले रोजेको स्थानीय तहका लागि नियुक्तिपत्र दिएर उहाँहरुलाई एकाइ कार्यालयको तर्फबाट बिदाइ गरिएको पनि एकाइ प्रमुख भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका लागि सिफारिस भएका २३ शिक्षकमध्ये सबैभन्दा बढी विज्ञान विषयका १२ जना हुनुहुन्छ । त्यस्तै गणित विषयका आठ जना, सामाजिकका दुई र अङ्ग्रेजी विषयका एकजना शिक्षक रहनुभएको विकास तथा समन्वय एकाइले जनाएको छ ।