• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय ब्याडमिन्टन पुसमा

blog

काठमाडौँ, मङ्सिर २० गते । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोस्राे ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ बाट सुरु हुने भएको छ । 

वरीयता प्रतियोगितासमेत रहेको यस प्रतियोगितालाई ललितपुर नगरपालिकाको मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष २० वरीयता बाहेकको पुरुष युगल र ४५ वर्ष माथिको भेट्रान्स युगल (खुला) गरी ६ विधामा प्रतिस्पर्धा गराईने आयोजक ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष गोपाल महर्जनले जानकारी दिनुभयो । 

पाँच दिनसम्म चल्ने प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फ विजयी खेलाडीले ४० हजार रुपियाँ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेतालाई २० हजार, तेस्राे स्थान प्राप्त गर्ने दुई खेलाडीलाई १० हजार पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । 

यस्तै पुरुष युगलतर्फका विजयी जोडीले ४० हजार, उपविजयीले २० हजार र तेस्राे स्थान हुने जोडीले १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यु—१७ छात्र÷छात्रा तथा भेट्रान्स युगलतर्फका विजयी खेलाडीले २० हजार, उपविजयीले १० हजार र तेस्राे हुनेले ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा चार सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएका छन् ।

ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको आफ्नै कोर्टमा ५ दिन सम्म संचालन हुने प्रतियोगिता विश्व ब्याडमिन्टन महासङ्घ, एशियन ब्याडमिन्टन महासङ्घ र नेपाल ब्याडमिन्टन सङ्घको नियमानुसार खेलाइने आयोजकले जनाएको छ ।