• ७ जेठ २०८१, सोमबार

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौंः प्रधानमन्त्री

blog

काठमाडौँ, मङ्सिर २० गते । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।’’


 नास्टका कुलपतिसमेत रहनुभएका दाहालले  विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै  मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताउनुभयो । 

“सरकारले तपाईहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेका छैनौँ । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्वबारे जानकार छु ।” 

उहाँले आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गर्नुभयो । 

“सोह्रौँ योजनामा के कस्ता कार्यक्रम समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न अनुरोध गर्दछु ।”

सो अवसरमा प्रधानमन्त्री दाहालले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गरिएको थियो । 

सम्बोधनको पूर्ण पाठ

आज फेरि म नास्टको ४१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित भएर केही समय वैज्ञानिक अनुभूतिको क्षणको रूपमा समय बिताउन पाउँदा मलाई खुसी लागेको छ। यस अवसरमा नास्टको वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत हुनुभएकोमा सम्पूर्ण वैज्ञानिक प्राविधिज्ञहरूमा हार्दिक बधाई व्यक्त गर्दछु। 

मैले तपाईँहरूको विज्ञान तथा प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको बारेमा सर्सति हेर्ने मौका पाएँ। मलाई अत्यन्त खुसी लाग्यो। हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आएको रहेछ। भलै नेपाल सरकारले तपाईंहरूले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेका छैनौं। सरकारका पनि विभिन्न बाध्यता हुँदारहेछन्। यसमा तपाईंहरूले बुझिदिनुभएकै छ। म आफैँ पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू राम्रोसँग बुझ्दछु।

भर्खरै मैले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन उद्घाटन गरें। मलाई विश्वास छ यी अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परीक्षणहरू हुने वातावरण सिर्जना हुँदै जानेछन्।  

विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।

जनताको अपेक्षा नास्टप्रति बढी छ। यसर्थ यहाँ सञ्चालन हुने कार्यक्रमहरूको स्तरीयताका बारेमा टीकाटिप्पणी हुनु तपाईँहरूको लागि पृष्ठपोषण हुने म ठान्दछु।

आगामी सोह्रौं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ। देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु। अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो न कि एकाङ्की भएर गन्तव्य पुग्न कठिन हुने राजनीतिकलगायत अन्य उदाहरण हामीसँग धेरै छन्। 

अन्त्यमा, पुनः एकपटक सबै पुरस्कृत महानुभावहरूमा हार्दिक बधाई व्यक्त गर्दै ४१ औँ वार्षिकोत्सवको सफलताको शुभेच्छासहित बिदा हुन्छु। धन्यवाद।