• ७ जेठ २०८१, सोमबार

चिनीको अभाव केही दिनमै समाधान हुने

blog

काठमाडौँ, मङ्सिर २० गते । बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरि चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ । 

खुद्रा व्यापार सङ्घका उपाध्यक्ष ध्रुवप्रसाद अधिकारी अहिले बजारमा चिनीको अभाव चुलिएको बताउनुहुन्छ । ग्राहकहरू अहिले चिनी खरिदका लागि पसल पुग्दा रित्तो हात फर्कनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले बजारमा चिनीको अभाव चुलिएको छ । ग्राहकहरू पसलमा चिनी खरिदको लागि पुग्दा रित्तो हात फर्कनुपर्ने अवस्था छ ।” उहाँका अनुसार अहिले व्यापारीहरूले समेत कतै चिनी किन्न पाएका छैनन् । पछिल्लो पाँच दिन यता चिनीका ग्राहकहरू रित्तो हात फर्कनुपरेको उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “खुद्रा व्यापारीहरूले समेत चिनी खरिद गर्न पाएका छैनन् । साल्ट ट्रेडिङ् कर्पोरेसन र खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि बजारमा चिनी पठाएका छैनन् । चिनीको अभाव चुलिएको छ ।”

केही दिनमै चिनी उपलब्ध हुन्छ 

पछिल्लो पाँच दिन यता देखिएको चिनीको अभाव केही दिनमै समाधान हुने उद्योग वाणिज्य तथा संरक्षण विभागले जनाएको छ । विभागका प्रवक्ता आनन्दराज पोखरेलका अनुसार सूचना प्रवाहको कमजोरीका कारण मात्र बजारमा चिनीको अभाव भएको हो । उहाँले भन्नुभयो, “बजारमा समन्वयको अभावका कारण चिनीको अभाव भएको हो । केही दिनमा नै यो समस्या समाधान हुन्छ । ”

उहाँका अनुसार अहिले दैनिक पाँच–छ ट्रक चिनी आयात भइरहेकाले खुद्रा व्यापारीले डिलरहरूसँग सम्पर्क गरेर लिन सकिनेछ । अहिले उखुको क्रसिङ् सिजन सुरु भएकाले चिनीको अभाव लामो समय नजाने उहाँको भनाइ छ । अहिले छ उद्योगले चिनी उत्पादन सुरु गरिसकेकाले चिनीको अभाव केही दिनमा नै हट्ने उहाँ बताउनुहुन्छ ।

प्रवक्ता पोखरेलले भन्नुभयो, “अहिले छ उद्योगले चिनी उत्पादन सुरु गरिसकेका छन् । बजारमा पनि दैनिक पाँच–छ ट्रक चिनी आइरहेको छ । त्यसैले चिनीको अभाव केही दिनमै समाधान हुनेछ ।” 

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार अहिले बजारमा देखिएको चिनीको अभाव दुई–तीन दिनमा समाधान हुनेछ । उपत्यका बाहिरका जिल्लाहरूमा चिनीको आपूर्तिमा कुनै समस्या नरहेको र उपत्यकाभित्र मात्र चिनी नआएकाले यो समस्या केही दिनमा नै समाधान हुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “उपत्यका बाहिरका जिल्लाहरूमा चिनीको अभाव छैन । पश्चिममा छ उद्योगले चिनी उत्पादन गरेर बजारमा पठाइसकेका छन् । उपत्यकामा मात्र केही समस्या हो यो चाँडै समाधान हुन्छ ।” पूर्वी नेपालका चिनी उद्योगहरूले पनि चिनी उत्पादन थालेकाले चिनीको अभाव लामो समय नहुने उहाँ बताउनुहुन्छ । 

चिनी उत्पादन बढ्ने आङ्कलन 

यस वर्ष चिनी उत्पादन बढ्ने आङ्कलन गरिएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति संरक्षण विभागका प्रवक्ता पोखरेलका अनुसार यस वर्ष चिनीको उत्पादन बढेर दुई लाख ३० हजार टन पुग्ने आङ्कलन गरिएको छ । गतबर्ष नेपालमा चिनीको उत्पादन एक लाख ७५ हजार टन  हाराहारीमा रहेको थियो । 

यस वर्ष समयमै उखु लगाएको र मौसमको अनुकूलनले उखु उत्पादन राम्रो रहेका कारण चिनीको उत्पादन बढ्ने उहाँले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।