• २२ वैशाख २०८१, शनिबार

नेपाल दोस्रो पटक विश्वकपमा

blog

नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । काठमाडौँमा भएको विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानियो । नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेटस (युएई) लाई आठ विकेटले हराएको थियो । 

मूलपानी क्रिकेट मैदानमा जितका लागि १३५ रनको सामान्य चुनौती नेपालले १७.१ ओभरमा दुई विकेट गुमाएर जित हासिल ग¥यो । आसिफ शेखले ५० बलमा अविजित रहँदै ६३ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा अविजित रहँदै ३५ रन जोडे । गुल्सन झाले २४ बलमा २२ रन तथा कुशल भुर्तेलले ११ रन बनाएका थिए ।

युएईलाई नै हराएर नेपालले एक दिवसीय मान्यतालाई कायम गरेको थियो भने युएईलाई नै हराएर नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो । अहिले फेरि युएईलाई नै हराएर नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न पाएको छ । नेपालले पहिलो पटक सन् २०१४ मा बङ्गलादेशमा आयोजना गरिएको टी–२० विश्वकप खेलेको थियो । 

नेपालसँगै ओमान पनि एसिया छनोटबाट विश्वकपमा पुगेको छ । फाइनलमा पुग्ने दुई टिम विश्वकपमा पुगेका हुन् । छनोट प्रतिस्पर्धाको उपाधि ओमानले नै जित्यो । फाइनलमा खेलका दिन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रङ्गशालामा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

कप्तान रोहित पौडेल र गुल्सन झाबीच पाँचौँ विकेटका लागि भएको ७८ रनको साझेदारीले नेपाल सम्मानजनक योगफल जोड्न सफल भएको भन्न सकिन्छ । गुल्सनले २० बलमै अर्धशतक पूरा गरे तथा  उनले २५ बलमा कुल ५४ रन बनाएका थिए । त्यस्तै रोहितले ३७ बलमा ५२ रन बनाए ।

जवाफमा ओमानले नौ विकेटको क्षतिमा समान १८४ रन नै बनाएपछि सुपर ओभरमा नेपाललाई हरायो । सुपर ओभरमा ओमानले कुनै पनि विकेट नगुमाइ २१ रन जोडेकोमा नेपालले एक  विकेटको क्षतिमा १० रन मात्र बनाउन सकेको थियो । 

विश्वकप २०२४

सन् २०२४ मा आयोजना गरिने विश्वकपमा २० टिमले सहभागिता जनाउने छन् । वरीयताप्राप्त १२ टिमले स्वतः विश्वकप खेल्ने छन् भने बाँकी आठ टिम नेपाल र ओमान जस्तै छनोट चरण पार गरेर विश्वकपमा पुग्ने छन् । 

स्वतः छानिएका १२ टिममा आयोजकका हिसाबले अमेरिका र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै सन् २०२२ को विश्वकपका शीर्ष आठ टिम अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का पनि विश्वकपमा रहेका छन् । यसै गरी आइसिसीको वरीयता अनुसार अफगानिस्तान र बङ्गलादेशलाई समेत मौका दिइएको छ । 

त्यस्तै एसियाबाट नेपाल र ओमान, अमेरिकाबाट क्यानडा, पूर्वी एसियाबाट पपुवा न्युगिनी, युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड छानिएका छन् । अब दुई टिम मात्र छानिन बाँकी छ । ती टिम अफ्रिकाबाट छानिने छन् । 

राष्ट्रिय गौरवका रूपमा रङ्गशाला निर्माण 

क्रिकेटको भविष्य देखेपछि ढिला गरी सरकार रङ्गशाला बनाउन तातेको छ । सो अनुसार चितवनमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाइने भएको छ । 

भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको छ । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा कात्तिक २१ गते बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भयो । सहमति अनुसार प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने छन् । 

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्दाको बाँकी भुक्तानीलगायतका विषयमा सङ्घीय सरकारले निर्णय गर्ने छ । महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भएको छ । फाउन्डेसनले २० बिघा छ कट्टा जग्गामा निर्माण थालेको क्रिकेट रङ्गशालाको काम रकम अभावमा २०७८ साल साउन २० गते रोकिएको थियो ।

रङ्गशाला निर्माणमा हालसम्म फाउन्डेसनले रु. ५७ करोड ९२ लाख ८५ हजार सात सय ३८ खर्च भएको जनाएको छ । त्यसमध्ये १८ करोड ४३ लाख रुपियाँ ऋण छ ।

उपाधि नेपाललाई

एसिसी यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । कात्तिक ७ गते विजयादशमीका दिन भएको फाइनल खेलमा नेपालले युएईलाई पराजित ग¥यो । 

मलेसियाको क्वालालम्पुरमा भएको वर्षाले प्रभावित फाइनल खेलमा नेपाल १९ रनले विजयी भएको थियो । फाइनल जितका लागि नेपालले युएईलाई २८१ रनको चुनौती दियो तर वर्षाले खेल बीचमा अवरुद्ध भएपछि २७ ओभरमा १९८ रन बनाउने पर्ने संशोधित लक्ष्य युएईलाई दिइएको थियो ।

युएईले ११ ओभर खेल्दै दुई विकेटको क्षतिमा ५० रन बनाएपछि वर्षा सुरु भएको थियो । वर्षा रोकिएपछि ओभर घटाएर १९८ रनको नयाँ चुनौती पाएको युएईले २६.५ ओभरमै सबै विकेट गुमाएर १७८ रन बनाउन सक्यो ।

यसअघि खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो । नेपाल सबै खेल जितेर यु–१९ एसिया कपमा छनोट भएको छ । फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले युएई पनि छानिएको छ ।    

Author

सोमराज पोखरेल