• १६ असार २०८१, आइतबार

बेनीमा जेसीजकप फुटबल सुरु

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर १९ गते । म्याग्दीको बेनीमा अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको २१औँ संस्करण सुरु भएको छ । प्रतियोगिताको मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो । 

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २२ वटा विद्यालयले सहभागिता जनाएका छन् । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस वर्ष राम विमला फाउन्डेशनले मुख्य प्रायोजकको रूपमा आर्थिक सहयोग गरेको छ । 

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रदेश सभा सदस्य गौचनले विद्यालय स्तरमा फुटबल खेलको विकासका लागि प्रतियोगिताले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरूमा खेल प्रतिभाको प्रस्फुटन र क्षमता विकास गर्न जेसीज कप फुटबल प्रतियोगिता उपयोग हुने उहाँको भनाई थियो ।  

यसैगरी बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जेसीज कप फुटबल प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्‍याएको बताउनुभयो । खेल क्षेत्रको पूर्वाधार निर्माणमा सङ्घ र प्रदेश सरकारले साथ नदिँदा निर्माणाधीन बेनीको रङ्गशालाले पूर्णता पाउन नसकेको विचार व्यक्त गर्नुभयो । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जेसीज कप फुटबल प्रतियोगिताले जिल्लामा फुटबल खेलको विकासमा सहयोग पुगेको बताउनुभयो । विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर जेसीजले प्रतियोगिता आयोजना गर्दै आएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले बताउनुभयो ।

प्रतियोगितामा विजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित ५२ हजार २२२ रुपियाँ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ रुपियाँ पुरस्कार प्रदान गरिने मूल संयोजक विनोद घर्ती क्षत्रीले बताउनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमशः नगद २५ सय पुरस्कारले पुरस्कृत गरिने मूल संयोजक क्षत्रीले बताउनुभयो ।

त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा कुल ७ लाख ५० हजारभन्दा बढी खर्चको अनुमान गरिएको छ ।