• १२ साउन २०८१, शनिबार

एनसेल खरिद–बिक्री अनियमितता : बालुवाटारमा विशेष छलफल

blog

बालुवाटारमा भएको विशेष छलफलमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता। तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, मङ्सिर १९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गर्नुभएको छ। 

मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा सहभागी शीर्ष दलका नेता र विभागीय मन्त्रीसँग छलफल गर्नुभएको हो । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगै सरकारमा सहभागी दलका शीर्ष नेता सहभागी हुनुहुन्छ ।

सत्ता गठबन्धन दलका शीर्ष नेता र विभागीय मन्त्रीसँग प्रधानमन्त्रीले ऐनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा छलफल गर्नुभएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अहिले बालुवाटारमा छलफल जारी छ।  

दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ। 

नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो। बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको हो। गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले पनि पुष्टि गरेको छ। नेपालको विद्यमान व्यावसायिक वातावरण र कर प्रणालीलाई कारण देखाउँदै आजियटाले बाहिरिएको उल्लेख गरेको छ। 

एनसेलको स्वामित्व बिक्रीमा स्वच्छ रूपमा बाहिरिएको जनाए पनि आजियटाले खरिदबिक्रीको वास्तविक मूल्य भने सार्वजनिक गरेको छैन। नेपालमा लगानीको वातावरण नभएको दोष लगाएको आजियटाले सन् २०२९ पछि दूरसञ्चार अनुमतिपत्रको नवीकरण समाप्तिसँगै उत्पन्न हुने चुनौती पनि सँगै उल्लेख  गरेको छ। आजियटाको नेपालबाट बाहिरिन उसले देखाएको कारणलाई यी दुई परस्पर विपरीत कुराले भने पुष्टि गर्दैन। 

आजियटाले विज्ञप्तिमा एनसेलले आफ्नो सुरुवातदेखि नेपालको आर्थिक सामाजिक विकासका लागि महत्त्वपूर्ण योगदान गरेको पनि उल्लेख गरेको छ। 

सुरुवातदेखि दुई खर्ब ८३ अर्ब रुपियाँ करका रूपमा बुझाएको आजियटाले जनाएको छ। स्पेक्ट्रलाइटसँगको खरिद सम्झौतापछि जिम्मेवारपूर्वक नेपालबाट बाहिरिन सकेको पनि विज्ञप्तिमा उल्लेख छ। 

२०७२ पुसमा टेलियासोनेराबाट स्वामित्व खरिद गर्दा एक अर्ब तीन करोड अमेरिकी डलर (करिब एक खर्ब ४० अर्ब रुपियाँ) तिरेको आजियटाले अहिले सोही स्वामित्व भने पाँच करोड अमेरिकी डलर (करिब छ अर्ब रुपियाँ) मा बिक्री गरेको छ।

यो पनि पढ्नुहोस

दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल