• २५ वैशाख २०८१, मङ्गलबार

दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल

blog

काठमाडौँ, मङ्सिर १६ गते । दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । 

नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो । बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले पनि पुष्टि गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आजियटाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीसम्बन्धी सम्झौता पूरा भएको र एनसेलबाट पूर्ण रूपमा अलग भएको उल्लेख गरेको छ । नेपालको विद्यमान व्यावसायिक वातावरण र कर प्रणालीलाई कारण देखाउँदै आजियटाले बाहिरिएको उल्लेख गरेको छ । 

एनसेलको स्वामित्व बिक्रीमा स्वच्छ रूपमा बाहिरिएको जनाए पनि आजियटाले खरिदबिक्रीको वास्तविक मूल्य भने सार्वजनिक गरेको छैन । नेपालमा लगानीको वातावरण नभएको दोष लगाएको आजियटाले सन् २०२९ पछि दूरसञ्चार अनुमतिपत्रको नवीकरण समाप्तिसँगै उत्पन्न हुने चुनौती पनि सँगै उल्लेख  गरेको छ । आजियटाकोनेपालबाट बाहिरिन उसले देखाएको कारणलाई यी दुई परस्पर विपरीत कुराले भने पुष्टि गर्दैन । 

आजियटाले विज्ञप्तिमा एनसेलले आफ्नो सुरुवातदेखि नेपालको आर्थिक सामाजिक विकासका लागि महत्वपूर्ण योगदान गरेको पनि उल्लेख गरेको छ । 

सुरुवातदेखि दुई खर्ब ८३ अर्ब रुपियाँ करका रूपमा बुझाएको आजियटाले जनाएको छ । स्पेक्ट्रलाइटसँगको खरिद सम्झौतापछि जिम्मेबारपूर्वक नेपालबाट बाहिरिन सकेको पनि विज्ञप्तिमा उल्लेख छ । 

२०७२ पुसमा टेलियासोनेराबाट स्वामित्व खरिद गर्दा एक अर्ब तीन करोड अमेरिकी डलर (करिब एक खर्ब ४० अर्ब रुपियाँ) तिरेको आजियटाले अहिले सोही स्वामित्व भने पाँच करोड अमेरिकी डलर (करिब छ अर्ब रुपियाँ) मा बिक्री गरेको छ ।

एनसेलमा एउटै समूह हाबी

एनसेलबाट आफ्नो स्वामित्व बिक्री गरेर आजियटा बाहिरिएसँगै एनसेलमा एउटै समूह हाबी हुने भएको छ । हाल एनसेलमा स्वदेशी लगानीकर्ताका रूपमा रहनुभएका भावनासिंह श्रेष्ठको सुनिभेरा भेन्चर्सको २० प्रतिशत स्वामित्व रहेको छ । नेपालको विद्यमान कानुन अनुसार विदेशी लगानी भएको कम्पनीमा २० प्रतिशत स्वामित्व नेपाली नागरिकको हुनुपर्ने भएकाले आजियटाले श्रेष्ठलाई नेपाली प्रतिनिधिका रूपमा चयन गरेको थियो । 

यद्यपि श्रेष्ठको कम्पनी सुनिभेरा भेन्चर्स भने सिङ्गापुरमा दर्ता भएको छ । आजियटाले हाल बेलायतमा दर्ता रहेको स्पेक्ट्रलाइटलाई  बिक्री गरेको भनिएको स्वामित्वको खरिदकर्तामध्येका सतीशलाल आचार्य श्रेष्ठकै श्रीमान् हुनुहुन्छ । यससँगै एनसेलको स्वामित्वमा एउटै समूह हाबी हुन पुगेको छ । इन्टरनेटमा उपलब्ध विवरण अनुसार स्पेक्ट्रलाइटको सचिवका रूपमा बेलायतको कम्पनी डेन्टोस सेक्रेटरिज लिमिटेडलाई राखिएको छ । 

बेलायतमा कुनै कारोबार नै नगरेको कम्पनीले एकै पटक एनसेलको ८० प्रतिशत स्वामित्व लिने सम्झौता गर्नु आफैँमा आश्चर्यजनक छ । बेलायतसँग नेपालको दोहोरो कर मुक्त सम्झौता भएकाले त्यहाँ कम्पनी दर्ता गरेर सम्भावित करबाट बच्ने उपायका रूपमा पनि सरोकारवालाले यसलाई अथ्र्याउन थालेका छन् । युरोपको लगानीकर्ता समूह टेलियासोनेराले एनसेलमा रहेको आफ्नो स्वामित्व बिक्री गर्दा करिब ६० अर्ब रुपियाँ लाभ कर छली विषयले निकै चर्चा पाएको थियो । अन्तर्राष्ट्रिय अदालतसम्म पुगेको उक्त मुद्दामा नेपालको पक्षमा फैसला आएको थियो ।    

एनसेल खरिदबिक्रीअघि आजियटाले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्नेमा त्यस्तो स्वीकृति पनि नलिएको प्राधिकरणले जनाएको छ ।