काठमाडौँ, मङ्सिर १९ गते । संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार खेलाडीको बिदाइ गरेको हो । एसिया कपलाई एक महिना पछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा लिइएको छ । नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।
एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसहित बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले आफ्नो पहिलो खेल मङ्सिर २२ गते पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यू–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्याउन आतुर रहेको बताउनुभयो । उहाँले सिनियर टोलीले राम्रो गरिरहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताउनुभयो । ‘‘भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेको सबैलाई राम्रो अवसर हुनेछ । हामी राम्रो खेल्दै यात्रा सफल बनाउन चाहन्छौँ,’’ खनालले भन्नुभयो ।
यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने बताउनुभयो । ‘‘हामीले दुई साता राम्रो तयारी गरेका छौँ । फरक फरक पिचमा अभ्यास गरेकोले राम्रो क्रिकेट खेल्दै सबै खेलमा जित निकाल्ने प्रयास गर्नेछौँ । उमेर समूहमा पनि नेपाल कमजोर छैन,’’ टमटाले भन्नुभयो ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारी लगायतले बिदाइ गर्नुभयो । कार्यक्रममा मन्त्री लिम्बुले नेपाली क्रिकेट खेलाडीमा संसारलाई जित्ने क्षमता रहेकोले सिनियर टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आशा व्यक्त गर्नुभयो । उहाँले युवा क्रिकेट टोलीले पाउनुपर्ने पूर्वघोषित पुरस्कार दुई तीन दिनमा सबैको बैङ्क खातामा पठाउने पनि बताउनुभयो ।
यस्तै नेपालले गत फागुनमा नेपालमा भएको विश्वकप छनोट खेलमा युएईलाई हराउँदै विश्वकपमा समेत स्थान बनाएको थियो । विश्वकप भने सन् २०२४ जनवरी १३ देखी ४ फेब्रुअरीसम्म हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्। नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छ ।
समूह ‘बी’ मा इङ्गल्यान्ड, आयोजक दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर विश्वकपमा स्थान बनाएको थियो ।
नेपाली यू–१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा ।