बाबुराम शर्मा
दोलखा, मङ्सिर १९ गते। दोलखाको सदरमुकाम चरिकोट भीमेश्वर नगरपालिकाको आयोजनामा २० औँ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस २०८० मनाइएको छ।
स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मूल नारासहित कार्यक्रम गरी दिवस मनाइएको हो। कार्यक्रममा नगरप्रमुख ईश्वरनारायण मानन्धरले पुरुषका सपना मनोरञ्जनात्मक हुने र महिलाका सपना पारिवारिक तथा सामाजिक हुने उदाहरण प्रस्तुत गर्दै महिला स्वयंसेविकाको स्वास्थ्यमा मात्र नभएर सबै क्षेत्रमा उत्तिकै भूमिका रहेको बताउनुभयो।
आर्थिक तरलताले भने जस्तो सम्मान गर्न नसकेको विचार राख्दै उहाँले समाजका बालबालिका र महिलालाई स्वास्थ्य सेवा दिएर पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिएको बताउनुभयो।
उपप्रमुख कमला बस्नेतले स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरेर व्यावसायिकसमेत बन्न सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा ६० वर्षे उमेर हद पुगेका ज्ञानुमाया तमाङ, निमाडोल्मा तमाङ, सेतीमाया श्रेष्ठ, सीता खत्री, कान्छी थामी,कृष्णकुमारी श्रेष्ठ, टीकालक्ष्मी केसी, मीनकुमारी रेग्मी, निमा तमाङ र इन्द्रकुमारी कार्कीलाई बागमती प्रदेशको २० हजार र नगरको २० हजार गरी कुल ४० हजार नगदसहित सम्मान गरिएको छ।
त्यस्तै नगरभित्रका ११४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही पाँच हजार, नगद र प्रशंसापत्र प्रदान गरिएको छ।