• १३ असोज २०८१, आइतबार

पृथ्वीराजमार्गको कालोपत्रे धमाधम

blog

पृथ्वीराजमार्गको पूर्वी खण्डको कालोपत्रे गरिदैं। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर १९ गते। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी  खण्डको काम सुरु भएको हो। 

आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्की चोकसम्मको साढे चार किलोमिटर सडकको कालोपत्र मङ्गलबार सुरु भएको हो। पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवका अनुसार गाउँपालिकाचोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र कार्य अघि बढाएको हो। 

यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन किलोमिटर दूरीमा कालोपत्रे कार्य सम्पन्न गरिसकेको छ। १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको आयोजनाले जनाएको छ।

जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दूरी एकतर्फी कालोपत्र कार्य हालै सम्पन्न भएको यादवले जानकारी दिनुभयो । बन्दीपुर–१ नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दुरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। 

यादवका अनुसार हालसम्म एकतर्फी नौ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको छ। यातायात आवागमनलाई सहज बनाउन दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो। 

चिनियाँ र नेपाली दुवै कामदारबाट काम भइरहेको यादवले बताउनुभयो। यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको छ। यादवले  भन्नुभयो, ‘‘हालसम्म ४२ प्रतिशत काम पुरा भएको छ, यात्रुलाई यात्रा गर्न सहजहोस् भनेर कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको छ।’’ 

पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भएर २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ। 

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ वैशाखसम्म छ। तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ। 

दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगन गौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ। पश्चिम खण्डको काम भने सुस्त छ। यस खण्डको हालसम्म ११ प्रतिशत काम पुरा भएको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो।