• १२ मंसिर २०८१, बुधबार

अर्जुनचौपारीमा राष्ट्रपति कप सुरु

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर १९ गते । अर्जुनचौपारी गाउँपालिकामा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव-२०८० मङ्गलबारबाट सुरु भएको छ । पालिका बनेको सातौँ वर्षमा गाउँपालिकाको खेल मैदानमा राष्ट्रपति कप तथा शैक्षिक महोत्सव सुरु भएको हो । 

मङ्सिर २२ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा भलिबल, एथलेटिक्स, सटफुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्र/छात्रा हुने छ भने चम्चारेस, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेसलगायतका प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा पालिका अध्यक्ष प्रकाश तिवारीले खेलमा हारजित हुने बताउँदै सहभागिता नै ठुलो जित भएको बताउनुभयो । अर्जुनचौपारीलाई खेलकुदबाट चिनाउने सक्ने बताउँदै तिवारीले त्यसैले खेलकुद महोत्सव गरिएको बताउनुभयो । 

यस्तै उपाध्यक्ष सपना गुरुङले खेलकुद महोत्सवले प्रतिभा प्रपुष्ठन गर्न सहज हुने बताउनुभयो । साहित्य कला र सङ्गीत नभएको मानव पुच्छर नभएको पशुबराबर भएको हुने गुरुङको भनाइ थियो । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत आशिष् शर्माले खेल र अध्ययनलाई सगँसगै अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षक विष्णु चापागाईँ, ओम गुरुङ, विद्यार्थी सुस्मिता शर्मा पौडेल, अशोक ढकाललगायतले मन्तव्य राख्नुभएको थियो । 

राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा छ मावि सहित २८ विद्यालय ३२४ जना विद्यार्थी सहभागी रहेका छन् । व्यक्तिगततर्फ प्रथम र द्वितीय तथा समूहगत खेलमा एक टिमले राष्ट्रपति कपको जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् ।