• १२ असार २०८१, बुधबार

राखेप सदस्यसचिव र चिनियाँ राजदूतावास प्रतिनिधिबिच छलफल

blog

दशरथ रङ्गशालाको अवलोकन गर्दै चिनियाँ टोली । तस्बिर : सौजन्य राखेप

काठमाडौं, मङ्सिर १९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबिच मङ्गलबार छलफल भएको छ ।

राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सदस्य सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गर्नुभएको हो । भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबिच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।

नेपालको यु–२१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यवसायी र यसु फुटबल टिमको यु–२१ पुरुष टोलीबिच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।महोत्सवका अवसरमा संस्कृति आदानप्रदानलगायत विविध कार्यक्रम हुनेछ ।

चिनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा गराउन प्रस्ताव गरेका छन् । साथै चिनियाँ टोलीले दशरथ रङ्गशालाको पनि अवलोकन गरेको छ । सदस्य सचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम चिनियाँ राजदूतावासको आयोजनामा हुन लागेको हो ।

भेटका अवसरमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष जिन छियोदोङ, उपाध्यक्ष गु यिङमिन, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, सामान्य प्रशासन शाखाकी प्रमुख शारदा दाहाललगायतको उपस्थिति थियो ।