अमरराज नहर्की
तनहुँ, मङ्सिर १९ गते । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा सञ्चालित शत्रुधन–मञ्जु मिर्गौला डायलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामी मर्कामा परेका छन् । मिर्गौलाको डायलासिस गराउने मेसिन बिग्रिएपछि बिरामी र बिरामीका परिवार चिन्तामा परेका छन् ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले डायलासिस केन्द्रमा रहेका ११ वटा मेसिनमध्ये सात वटा बिग्रिएका बताउनुभयो । अध्यक्ष थापाका अनुसार विभाग, मन्त्रालयलगायत सम्बन्धित निकायमा यसबारे पटक पटक ध्यानाकर्षण गराइएको छ ।
चार वटा मेसिन मात्रै सञ्चालन गर्नुपर्दा मध्यरातसम्म कुरेर बिरामीले डायलासिस गर्नु परेको छ । थापाले भन्नुभयो, “धेरै मेसिन बिग्रिएकाले चार घण्टा गर्नुपर्ने डायलासिसतीन घण्टा मात्र गरिएको छ । बिरामीको चाप धेरै हुँदा मध्यरातसम्म बसी बिरामीले पालो कुरेर उपचार गर्ने गरेका छन् ।” डायलासिस केन्द्रमा ५२ जना मिर्गौलाका बिरामीले नियमित रूपमा डायलासिस गराउँदै आएकामा मेसिन बिग्रिएपछि सबैलाई पालो दिन डायलासिसको समय घटाइएको थापाले जानकारी दिनुभयो । माग धेरै भएकाले सबैलाई सेवा दिन नसकिएको समितिले जनाएको छ ।
समितिका अनुसार गत जेठ १७ गते राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौँको प्राविधिक टोली आएर बिग्रिएका मेसिन मर्मतसम्भार गरी सञ्चालनमा ल्याए पनि पुनः ती मेसिन बिग्रिएर हाल चार वटाले मात्रै काम गरेका छन् । उपकरण थोरै हुँदा मिर्गौलापीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । २५ जना बिरामी पालो कुरेर बसेका छन् । अध्यक्ष थापाले भन्नुभयो, “प्रदेश सरकार र सङ्घ सरकारसँग मेसिन थप गरी सेवा सहज बनाउन र बिग्रिएका मेसिन बनाउन बारम्बार माग गरे पनि सुनुवाइ भएको छैन ।”
मेसिन बिग्रिएपछि डायलासिस गर्न आउने बिरामीलाई सहज रूपमा सेवा प्रदान गर्न नसकिएको डायलासिस सेवाका इन्चार्ज शैलेन्द्र पण्डितले बताउनुभयो । बिग्रिएको मेसिन बनाउने प्राविधिक काठमाडौँबाटै आउनुपर्ने भएको हुँदा तत्काल मर्मत गर्न सकिएको छैन । अस्पतालमा बायोमेट्रिक टेक्निसियनको दरबन्दी नहुँदा डायलासिस मेसिन बिग्रिँदा बनाउन बाहिरबाट मानिस बोलाउनु पर्छ ।
विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा सुरुमा एक करोड २० लाख रुपियाँको लागतमा छ वटा डायलासिस उपकरण जडान गरिएको थियो । पछि तीन वटा उपकरण थप गरिएको छ । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्न २५ लाख रुपियाँ सहयोग गर्नुभएको थियो । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यसअगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो ।