• १२ मंसिर २०८१, बुधबार

हिमपातका कारण डोल्पामा जनजीवन कष्टकर

blog

उपल्लो डोल्पामा भएको हिमपात । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा, मङ्सिर १८ गते । उपल्लो डोल्पामा यो वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षसँगै हिमपात भएको हो ।

उत्तरी सीमा नाकामा पर्ने डोल्पोबुद्ध छार्काताङसोङ, शेफोक्सुण्डो र काइके गाउँपालिकामा बाक्लो हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

यसैगरी, तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीवन बन्तडी हुमलगायतका बस्तीमा समेत हिउँ जमेको छ ।

यस्तै, ठूलिभेरी नगरपालिकामा पर्ने माझफाल थरगाउँ दुरगाउँ र काँडातालीमा पनि हिउँ जमेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शिव बुढाथोकीले जानकारी दिनु भयो ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि वृद्धवृद्धा, महिला र बालबालिकालाई समस्या भएको छ । हिमपातले गर्दा उपल्लो डोल्पाका सम्पूर्ण विद्यालयको पठनपाठन पूर्णरुपमा प्रभावित भएको छ ।

यत्तिखेर डोल्पाको तापक्रम शून्य डिग्रीमा झरेको छ । हिमपातले जनजीवन कष्टकर बनाए पनि मङ्सिरमा परेको हिउँ शुभ भई बालीनालीलगायत यार्सागुम्बा उम्रनेमा सहयोग पुग्ने भएकाले कृषकहरू भने हर्षित छन् ।

ठुलिभेरी नगरपालिका–९ का अमरसिंह कठायतले केही दिनको जनजीवन कष्टकर भए पनि हिमपातले बालीनाली सप्रनमा सहयोग पुग्नुका साथै यार्सागुम्बा उम्रनमा समेत मद्दत गर्ने बताउनु भयो ।

बिहानैदेखि वर्षत् भएपछि भने जुफाल विमानस्थल बन्द रह्यो । नेपालगन्ज डोल्पाका लागि प्रतिकुल मौसमका कारण कुनैपनि उडान हुन सकेनन् ।

हिमपातले विभिन्न स्थानीय तहमा राखिएका नेपाल टेलिकमका टावरमा जडित सोलार प्यानलहरू समेत चार्जनभएपछि टेलिफोन सेवा समेत प्रभावित बनेको छ ।