• ६ माघ २०८१, आइतबार

‘संघीय व्यवस्था बलियो बनाउन मिडियाकर्मी लाग्नुपर्छ’

blog

धर्बेन्द्र झा 

धनुषा, मङ्सिर १७ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले गणतन्त्र र संघीयता ल्याउन मिडियाको भूमिका खेलेकाले अब सो व्यवस्था बलियो बनाउन पनि भूमिका खेल्नुपर्ने आग्रह गर्नुभएको छ । 

मिडिया काउन्सिल मधेश प्रदेशका पूर्व अध्यक्ष स्व. शिवहरीप्रसाद भटट्राईको प्रथम वार्षिक पुण्यतीथिको अवसरमा मिडिया काउन्सिल मधेश प्रदेशले आइतबार आयोजना गरेको श्रद्धाञ्जली सभामा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सत्यतथ्य बाहिर ल्याउनु मिडियाको धर्म भएको भन्दै प्रदेश सरकारको सकारात्मक कामलाई उजागर गर्नु र कमी कमजोरीलाई केलाइ रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । कुनै पनि समयमा पत्रकारको कलम नडगमगाएको भन्दै आउने दिनमा पनि सत्यतथ्यलाई उजागर गर्नेगरी कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।  

पत्रकारिता विकासका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाउँदै मिडिया काउन्सिलका कर्मचारी र पदाअधिकारीलाई त्यसका लागि सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले बरिष्ठ पत्रकार शिवहरीको नाउँमा पत्रकारिता पुरस्कारको स्थापनाका लागि पहल गर्ने पनि बताउनुभयो । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरेन्द्रप्रसाद सिंहले लोकतन्त्र र संघीयताविरुद्धमा विभिन्नखालका षडयन्त्र र प्रचारबाजी भइरहेको भन्दै लोकतन्त्र र संघीयताको सकारात्मक पहल गर्न आग्रह गर्नुभयो । मिडियाकर्मी मजवुत नभएसम्म लोकतन्त्र मजवुत नहुने उहाँले बताउनुभयो । 

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्री सरोजसिंह कुसवाहा, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहसहितले वरिष्ठ पत्रकार शिवहरीले पत्रकारिता जगतमा खेलेको भूमिकाको चर्चा गर्नुभयो ।