• १२ साउन २०८१, शनिबार

नेपालीलाई फुटाउने प्रयास भइरहेको छ : अध्यक्ष ओली

blog

सम्बोधनका क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना 

मंगलसेन, मंसिर १७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुभएको छ । 

अछामको पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रमा आयोजित  सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मिलेर रहेका नागरिकलाई विभिन्न नाममा फुटाउने प्रयास भइरहेको भनाइ राख्नुभयो ।   

“जातको नाउँमा, भूगोलको नाउँमा, वल्लो भेग–पल्लो भेग, डाँडावारी र पारीको नाउँमा, विभिन्न नाउँमा मान्छेलाई फुटाउने कोसिस भएको छ” सबै जातजाति, भाषाभाषि, धार्मिक आस्था भएका व्यक्तिलाई सामाजिक न्याय र समानता दिनुपर्ने जोड अध्यक्ष ओलीको भनाइ छ । मिलेर रहेको समाजलाई फुटाउनेका विरुद्धमा एमाले रहेको भन्दै आफूहरूले राष्ट्रिय एकताको पक्षमा रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावमा राष्ट्रिय एकता बनाउनुपर्छ । एकताबद्ध भएर हामीले शान्तिपूर्ण र समृद्ध नेपाल बनाउन विकास र आधुनिकीकरणमा अगाडि बढ्नुपर्छ ।” 

वर्तमान सरकार गन्तव्यविहीन भएकाले देश र जनताको पक्षमा काम गर्ने पक्षमा नरहेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । वर्तमान सरकारका कारण देशमा विकास ठप्प भएको र भ्रष्टाचार बढेको ओलीको आरोप छ ।    

एमालेको सरकार हटेपछि हत्या, हिंसामा वृद्धि, जाली मुद्दा लाउने, हत्यारा उम्काउने, मुद्दा फिर्ता लिने काम भएको अध्यक्ष ओलीको आरोप छ । गएको स्थानीय तहको निर्वाचनमा हत्या गरिएका भनिएका विनोद शाहीको घटनामा दुख व्यक्त गर्दै अध्यक्ष ओलीले यस्ता आपराधिक कार्यमा संलग्नलाई तत्काल कार्वाहीको माग गर्नुभयो ।

मङ्गलसेनमा आयोजित जनसभालगायत साँफेबगर, चौखुट्टेमा मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा अध्ययन गरेर देश र जनताको विकासका लागि अध्ययन गर्ने काम भइरहेको अध्यक्ष ओलीले बताउनुभयो । 

बिहीबारबाट बैतडीको झुलाघाटबाट यात्रा प्रारम्भ गरेर नेकपा (एमाले) ले डडेलधुरा, डोटी र अछामको यात्रा सकेर आइतबार कर्णाली प्रदेशको दैलेख पुगेको छ । पदयात्रामा पार्टीका पदाधिकारीसहित, केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेता रहेका छन् ।