• १२ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विद्यार्थीलाई सहयोग

blog

स्टेस्नरी सहयोग पाएपछि अपाङ्गता भएका विद्यार्थीहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, मङ्सिर १७ गते ।
 ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएको विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।

सिमकोट गाउँपालिका प्रशासकीय अधिकृत सुवास आलेले जिल्लाभरका ९६ जना अपाङ्गता भएको छात्र छात्राहरूलाई गाउँपालिकाको अगुवाइमा स्टेस्नरी सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।

जसमा ९२ जना संस्थाहरूको आवासीय सुविधामा अध्ययन गर्दै आएका छन् भने चार जना आफ्नै घरबाट अध्ययन गर्दै आएका छन् । उहाँले हिमाली शिक्षा र विकास (हेड नेपाल) र साहारा समूहमा आवासीय सुविधा लिएर सामुदायिक विद्यालयमा अध्ययन गर्दै आउनु भएको छात्राछात्रहरुलाई स्टेस्नरी दिवसको अवसरमा सहयोग गरिएको बताउनुभयो ।

यसैगरी, साहारा समूहले तीन जना अपाङ्गता भएका व्यक्तिलाई एक–एक थान कम्बल प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरी सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल लगायतले ती सामग्री प्रदान गर्नुभएको हो ।

सोही दिवसको अवसरमा खार्पुनाथ गाउँपालिकाका पाँच वटै वडाका अपाङ्गता भएका ६० जनालाई रोटरी क्लब काठमाडौँको आर्थिक सहयोगमा जुत्ता, ज्याकेट र पाल सहयोग गरिएको वडा नम्बर ५ का अध्यक्ष भरतजंग शाहीले बताउनुभयो । उक्त सामग्रीको काठमाडौँबाट हुम्लासम्मको ढुवानी खर्च भने उक्त वडाले लागत व्यहोरेको हो । आजै ती सामग्री गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले वितरण गर्नु भएको थियो ।