• १२ साउन २०८१, शनिबार

नेपाल–भारत सीमास्तम्भ मर्मत सम्भार सुरु

blog

कपिलवस्तुको कृष्णनगरको दशगजा क्षेत्रमा रहेको सिमा स्तम्भमा रंगरोगन गरी कार्यको शुभारम्भ गरिँदै । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा, मङ्सिर १७ गते ।
 लुम्बिनी प्रदेशको कपिलवस्तुबाट नेपाल–भारत सीमास्तम्भहरुको मर्मत सम्भार सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको अगुवाइ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत सम्भारको काम शुभारम्भ गरिएको हो ।

मधेश प्रदेशमा भने एक महिना अघिदेखि नै सशस्त्र प्रहरीको अगुवाइमा सीमास्तम्भहरुको मर्मत सम्भार भएको हो । जिल्लाको कृष्णनगर नगरपालिका २ लिङ्क गेटको किनारमा रहेको ५ सय ६७ (१) नम्बरको सहायक सीमास्तम्भको मर्मत गरी कामको सुरुवात गरिएको हो ।

बाहिनी पति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्री, कृष्ण नगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह, भारतको बलरामपुर जिल्लाका सेक्सन इन कमान्डका प्रमुख विकासदीप सिंह, सहायक प्रजिअ अनिल पौडेलले सीमास्तम्भमा करनीले मसला र पेन्ट लगाएर मर्मत सम्भारको काम शुभारम्भ गरेका हुन् ।

बिजोर नम्बरको नेपाल र जोर नम्बरको सीमास्तम्भको भारतले मर्मत सम्भारको जिम्मा पाएको छ । लुम्बिनी प्रदेशको कुल ४३५ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।

नापी विभागका नापी अधिकृत पवनकुमार खत्रीका अनुसार दशगजा क्षेत्रमा  लुम्बिनी प्रदेशका ८८८ वटा सीमास्तम्भ रहेको बताउनुभयो । जसमध्ये ५०६ वटा बिजोर नम्बरको मर्मत नेपालले गर्ने उहाँको भनाइ छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीका अनुसार लुम्बिनी प्रदेशको कपिलवस्तु नवलपरासी रुपन्देही, दाङ, बाँके र बर्दियामा रहेका सीमा स्तम्भको मर्मतको काम हुने बताउनुभयो । खत्रीले लुम्बिनी प्रदेशमा रहेको सीमास्तम्भको मर्मत सम्भार कार्य सुरु भएको र यसमा सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो । सीमास्तम्भ देशकै लागि संवेदनशील विषय भएकाले यो कार्यमा सरोकारवाला सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार कपिलवस्तुमा ठुलो सहायक र साना गरी कुल २७७ वटा सीमास्तम्भको मर्मत गरिने बताउनुभयो । उहाँले रङरोगन, २५ प्रतिशत क्षति भएको सामान्य, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशत क्षति भएका सीमास्तम्भको पूर्ण मर्मत गरिने बताउनुभयो ।

कपिलवस्तुको ९३ किलोमिटर सीमाक्षेत्र भारतसँग जोडिएको छ । जुन लुम्बिनी प्रदेशमै सबैभन्दा बढी हो । सीमास्तम्भ पनि कपिलवस्तुमै सबैभन्दा बढी छन् । नेपालमा भने कुल ८ हजार ५५३ सीमास्तम्भ छन् ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेल, लगायत स्थानीय जनप्रतिनिधि नेपाल भारतका सुरक्षाकर्मी लगायतको सहभागिता थियो ।