• १२ साउन २०८१, शनिबार

अपाङ्गतामैत्री कानुन बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला

blog

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राजधानीमा आइतबार आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवसमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः सन्तोष थारु/रासस

काठमाडौं, मङ्सिर १७ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति, नियम र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आइतबार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरूको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति नियमहरू बनाउने तयारीमा रहेको बताउनु भयो । उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरूको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा प्रतिबद्ध जनाउनुभयो ।

मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्गतामैत्री सार्वजनिक बस, सडक र पुलहरू बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको बताउनुभयो । उहाँले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भीर भएर लागि रहेको बताउनु भयो । उहाँले सरकारले बनाउने १६ औँ योजनामा पनि अपाङ्गता भएकाहरूको माग सम्बोधन गरिने जानकारी दिनुभयो ।

‘‘अहिलेसम्म अपाङ्गतामैत्री बन्न नसकेका नीति, नियम र कानुन अपाङ्गमैत्री बनाउन सरकार प्रतिबद्ध छ । सरकारले ल्याउन नीति तथा कार्यक्रम र बजेट समेत अपाङ्गतामैत्री कार्यक्रम लाएर अपाङ्गताहरूको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा पनि प्रतिबद्ध छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग छलफल गर्छु ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्गतामैत्री सार्वजनिक बस, सडक र पुलह रु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने छौँ । समग्र मुलुकको भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा पनि राज्य लागि परेको छ । जुन सबै सरोकारवालाहरूसँग छलफल गरिनेछ । सरकारले बनाउने १६ औँ योजनामा पनि अपाङ्गता भएकाहरूको माग सम्बोधन गरिनेछन् ।’’

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित प्रभातफेरी गरेको छ । प्रभातफेरीमा विभिन्न सङ्घसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।