• १२ साउन २०८१, शनिबार

किवी खेतीबाट वार्षिक पाँच लाख बढी आम्दानी

blog

गौमुखी गाउँपालिका –३ रजबारामा लटरम्म फलेका किवी । तस्विर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, मङ्सिर १७ गते । गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लले व्यावसायिक रूपमा किवी खेती गर्दै आउनुभएको छ । विगत तीन वर्षदेखि उहाँले बर्सेनि किवी उत्पादन गरी विक्री गरेर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दैआएको छ । 

मल्लको बारीमा लगाएको किवीको बोटमा लटरम्म फल लागेका छन् । “सुरुको वर्ष डेढ क्विन्टल फल्यो” मल्लले भन्नुभयो । गत वर्ष दश क्विन्टल किवी बिक्री गरेको उहाँले बताउनुभयो । किवीको ग्रेडिङ गरेर चार सय र पाँचसय रुपियाँ किलोमा बिक्री गरेको उहाँले बताउनुभयो । यो वर्षको उत्पादन बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

गाउँकै खरा माध्यमिक विद्यालयमा शिक्षण पेसामा कार्यरत मल्लले सुमन जडीबुटी तथा कृषि नर्सरी स्थापना गरी किवीको व्यावसायिक खेती गर्नुभएको छ । उहाँले तीन ठाउँमा किवी खेती गर्नुभएको छ । करिब १० रोपनी क्षेत्रफलमा किवी लगाएको उहाँले बताउनुभयो । “किवीको खेतीसँगै बेर्ना उत्पादन पनि गरेको छु” उहाँले भन्नुभयो, “अर्को वर्ष अझ बढी फल्छ ।”

मल्ल काठमाडौँ पुगेका बेला किवीको बारेमा थाहा पाउनुभएको हो । “बजारमा किवी महँगो फल रहेछ” उहाँले भन्नुभयो, “त्यसपछि त्यस फलको बारेमा अध्ययन गर्न थाले ।” सामाजिक सञ्जाल युट्युब लगायतबाट हेर्दै सिक्दै खेती सुरु गरेको उहाँको अनुभव छ । 

उहाँले गाउँमै किवीसँगै अन्य फलफूल तथा जडीबुटी उत्पादन तथा नर्सरी बेर्ना उत्पादनको सुरुवात गरेको जानकारी दिनुभयो । हालसम्म उहाँको झण्डै पाँच लाख रुपियाँ लगानी भएको छ ।

त्यसैगरी, मल्लरानी गाउँपालिका–१ चुँजाका पोमबहादुर नेपालीले समेत बाँझो जग्गामा किवी खेती गर्दै आउनुभएको छ । केही वर्षदेखि उहाँले किवी खेती गरेर आम्दानी लिँदै आउनुभएको छ । “खेर गएको बाँझो जग्गामा किवी खेती गरेको छु” उहाँले भन्नुभयो, “दुई वर्षदेखि उत्पादन सुरु भएको छ ।” 

गौमुखी गाउँपालिकाका कृषि प्राविधिक हुमलाल न्यौपानेले समुद्री सतहदेखि १६ सय मिटरमाथिको उचाइमा किवी खेती हुने बताउनुभयो । गौमुखी गाउँपालिकाको भूगोल किवी खेतीका लागि उपयुक्त रहेको उहाँको भनाइ छ ।