• १२ मंसिर २०८१, बुधबार

हाप्किन्डोका १४ खेलाडीको ग्रेडिङ

blog

हाप्किन्डो खेलको ग्रेडिङमा प्रमाणपत्र पाएका खेलाडीहरु । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, मङ्सिर १७ गते । नेपाल हाप्किन्डो एसोसिएसन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिङ गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ । 

यहाँ आयोजना गरिएको एक समारोहमा ग्रेडिङमा परेका खेलाडीहरूलाई एलो र ओरेन्ज बेल्ट प्राप्त गरेको प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता वरिष्ठ पत्रकार सिराज खान, नेपाल हाप्किन्डो एसोसिएसनका केन्द्रीय सदस्य मोहसिन रजा समीर लगायतले ग्रेडिङमा परेका खेलाडीहरूलाई अबिर लगाउँदै प्रमाणपत्र वितरण गर्नुभयो । 

सो अवसरमा बोल्दै गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता खानले विगत केही समययता बाँकेमा हाप्किन्डो खेलप्रति खेलाडीहरूको आकर्षण बढ्दै गएको जनाउँदै खेलाडी उत्पादनमा एसोसिएसनको अहम् भूमिका रहेको बताउनुभयो । उहाँले खेलकुद गतिविधिमा लाग्दा पढाइमा रुकावट नपर्ने गरी लाग्नु पर्ने जनाउँदै खेल र पढाई सँगै अगाडी बढाउन खेलाडीहरूसँग आग्रह गर्नुभयो ।

नेपाल हाप्किन्डो एसोसिएसनका केन्द्रीय सदस्य समीरले देशभरिमा सबैभन्दा बढी खेलाडी उत्पादन गर्ने काम हाप्किन्डो एसोसिएसनले गरिरहेको जनाउँदै धेरै ठुलो सङ्ख्यामा खेलाडी उत्पादन भएको बताउनुभयो । उहाँले सानो अवधिमा बाँकेमा मात्रै २०० जना खेलाडी उत्पादन गरिसकिएको जनाउँदै सो खेलप्रति विद्यार्थी र युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।  

हाप्किन्डो खेलका बाँकेका प्रमुख प्रशिक्षक मुनाल रसाइलीले खेलाडीहरूले निकै मिहिनेत गरेर ग्रेडिङमा भाग लिएको जनाउँदै कम उमेरका खेलाडीहरूमा समेत खेलप्रति ठुलो उत्साह देखिएको बताउनुभयो । सो अवसरमा नेपाल हाप्किन्डो एसोसिएसन बाँकेका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूसँगै प्रशिक्षकहरूको पनि उपस्थिति रहेको थियो ।