राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यमलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने बताउनुभएको छ । भूकम्प प्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणको क्रममा रुकुमपश्चिम आउनुभएका मन्त्री शर्माले हाललाई प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई एक वर्षसम्म निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने बताउनुभएको हो ।
उहाँले विद्युत सेवा समेत निःशुल्क गर्न पहल गर्ने उल्लेख गर्नुभयो । आइतबार जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पत्रकारहरूसँग छलफल गर्नुहुँदै मन्त्री शर्माले पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको नाममा दुरुपयोग बढेकोले टिकटक बन्द गर्नुपरेको उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सरकारलाई प्राप्त गुनासो र यससम्बन्धी परेका उजुरी समेतको आधारमा टिकटक बन्द गर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभयो । स्वनियमनमा कठिनाइ भएकोले तत्कालका लागि टिकटक बन्द गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री शर्माले सरकारले सुशासनका पक्षमा गरेका राम्रा कामहरू बाहिर ल्याउन सञ्चार माध्यामहरुको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मन्त्री शर्माले लोकतन्त्रको उच्चतम सुन्दरता सङ्घीयता भएको बताउनुभएको छ । भूकम्पको बेला सङ्घीयताको व्यवहारिक र सुन्दर अभ्यास देखिएको समेत मन्त्री शर्माले उल्लेख गर्नुभयो। स्थानीय तहमा जनप्रतिनिधिहरू नभएको भए जाजरकोट र रुकुमपश्चिममा अझ धेरै क्षति हुने उहाँको भनाइ छ । २४ घण्टाभित्रै पुरा भएको खोज, उद्धार र उपचारको प्रक्रिया, एकद्वार राहत वितरण प्रणाली जस्तै सोही रफ्तारमा अस्थायी आवास निर्माण र पुनर्निर्माणमा लाग्नुपर्ने उहाँको बताउनुभयो ।
सरकारले तत्काल अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जानकारी गराउनुहुँदै उहाँले थप दक्ष जनशक्ति आवश्यक परेको खण्डमा पनि माग गर्न आग्रह गर्नुभयो। जिल्लामा आएको बेला उहाँले भूकम्प प्रभावित र प्रभावित स्थानमा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई स्लिपिङ ब्याग र ज्याकेट हस्तान्तरण समेत गर्नुभएको थियो। यस अवसर नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिम शाखाले भूकम्प प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको हितको लागि १२ बुँदे माग पत्र पेस गरेको थियो ।
मन्त्री शर्माले जिल्लाको सानीभेरी गाउँपालिका र आठबिसकोट नगरपालिकाका भूकम्प प्रभावित स्थलहरूको निरीक्षण तथा पीडित परिवारहरूसँग भेटघाट समेत गर्नुभएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                