• ४ जेठ २०८१, शुक्रबार

चार महिनामा १२ हजार विदेशी पर्यटकद्वारा घोडेपानी भ्रमण

blog

हिमश्रृङ्खलाको अवलोकन गर्न पुनहिल पुगेका पर्यटकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १७ गते । 
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी–पुनहिलमा पछिल्लो साढे चार महिनामा करिब  १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । 

पर्यटक प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १० गतेसम्म १२ हजार ३६१ विदेशी पर्यटकले घोडेपानी र पुनहिल क्षेत्रको भ्रमण गरेका हुन् । पर्यटक प्रहरी कार्यालयले विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । पर्यटक सिजन सुरु भएदेखि सबैभन्दा बढी कात्तिक महिनामा विदेशी पर्यटकले घोडेपानीको भ्रमण गरेका छन् ।

साउन महिनामा ९७६, भदौमा ९९३, असोजमा तीन हजार १११, कात्तिकमा पाँच हजार ७७९ र मङ्सिर महिनाको १० गतेसम्म एक हजार ५०२ जना विदेशी पर्यटकले घोडेपानी–पुनहिलको भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहाय निरीक्षक तारा बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्यटकीय सिजन सुरु भएदेखि असोज, कात्तिक महिनामा सरदरमा दुई हजार पाँच सयदेखि तीन हजारसम्म आन्तरिक पर्यटकहरू आउने गरेका छन् । ‘‘आन्तरिक पर्यटकको हामीले दैनिक रूपमा तथ्याङ्क राख्ने गरेका छैनौँ,’’ उहाँले भन्नुभयो, ‘‘होटल व्यवसायीबाट मासिक रूपमा आन्तरिक पर्यटकको तथ्याङ्क लिने गरेका छौँ ।’’

गत वर्षको तुलनामा यसवर्ष पर्यटकको सङ्ख्यामा कमी आएको घोडेपानीका पर्यटन व्यवसायी क्या: डमबहादुर गर्बुजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कोरोना महामारीपछि गत वर्ष घोडेपानीमा विदेशी र आन्तरिक पर्यटकको उत्साहजनक रूपमा  आगमन भएको थियो तर यस वर्ष भने गत वर्षको तुलनामा धेरै कमी आयो ।’’

पर्यटकीय सिजनमा गत वर्ष दैनिक रूपमा करिब तीन सय पर्यटकसम्म घोडेपानी आउने गरेका थिए तर यसपालि सरदरमा एक सय पचास जना मात्र विदेशी पर्यटक भित्रिने गरेको पर्यटन व्यवसायी गर्बुजाले बताउनुभयो ।

सडक यातायातको विस्तारले गर्दा पदमार्ग मासिएपछि विदेशी पर्यटकहरू यस क्षेत्रमा आउन नमान्ने जर्मनी पर्यटक लिएर घोडेपानी आउनुभएका मल्ट्रीएडभेञ्चर काठमाडौँका पथप्रदर्शक डाइला शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सडकमा धुलो भएकाले विदेशी पर्यटक आउन मान्दैनन् । पर्यटकका लागि छुट्टै पदमार्ग बनाउन सकेमा धेरै राम्रो हुन्थ्यो ।’’

समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र  हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । घोडेपानीमा साना ठुला गरी २६ वटा होटल छन् । पुनहिल प्रवेश गर्न नेपालीले  ५० र विदेशीले १५० रुपियाँ प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे  मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । घोडेपानीमा बास बस्ने पर्यटकहरू एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् ।