तिलाचन पाण्डे
तम्घास, मङ्सिर १७ गते । धार्मिक तथा पर्यटकीय रेसुङ्गा क्षेत्रमा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषित भएको छ ।
तम्घासको खानीगाउँदेखि माथि रेसुङ्गा क्षेत्रमा जथाभाबी प्लाष्टिक, पानीका बोतल र मदिरा सेवन गरी सिसाका बोतलहरू फाल्नाले रेसुङ्गा क्षेत्र थप कुरूप बनेको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्न रेसुङ्गा नगरपालिकाले ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान चलाइरहेको समयमा जथाभाबी फालिएका सीसा र प्लाष्टिकको व्यवस्थापन गर्न नसक्दा थप चुनौती थपिएको छ ।
रेसुङ्गा संरक्षण समिति र नगरपालिकाले प्लाष्टिक, मदिरा सेवन गरी जथाभाबी फालिएको सिसाका बोतलहरूको उचित व्यवस्थापनमा चासो देखाएको छैन । यस क्षेत्र कुरूप बन्दै जान थालेपछि जथाभाबी फालिएका प्लाष्टिक र सिसाका बोतलहरू यहाँको एक निजी विद्यालयले जम्मा गरी व्यवस्थापन गरेको छ ।
रेसुङ्गा नगरपालिका–८ मा रहेको रिडर्स पब्लिक हाइस्कुलका विद्यार्थीले यस क्षेत्रका प्लाष्टिक र सिसाका बोतलहरू जम्मा गरी व्यवस्थापन गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका शिक्षक पुष्कर खड्काका अनुसार आफू र आफ्नो क्षेत्रका साथै सार्वजनिक क्षेत्र सधैँ सफा राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि स्काउटका विद्यार्थीले सरसफाइका साथै फोहोरमैला व्यवस्थापन गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले विद्यार्थीले रक्सीका बोतल व्यवस्थापन गर्ने स्थिति पैदा हुनु दुःखद भएको बताउनुभयो । धुमपान मद्यपान गर्नु हुँदैन भनेर शिक्षा लिने विद्यार्थीले जथाभाबी मदिरा सेवन गरी फालेका बोतल व्यवस्थापन गर्नुपर्दा मनोवैज्ञानिक असर पर्न सक्ने उहाँको भनाइ छ ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले केही दिन भित्रैमा सरोकारवालाको बैठक बसेर उचित व्यवस्थापन गर्नेतर्फ लाग्ने बताउनुभयो । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र फोहोरमैलालाई व्यवस्थापन गर्ने पन्थीको भनाइ छ ।