• २ असार २०८१, आइतबार

खाद्य कम्पनीद्वारा हालसम्म चार हजार क्विन्टल धान खरिद

blog

खाद्य व्यवस्था कम्पनी लिमिटेड नेपालगन्जमा धान खरिद जारी छ । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १७ गते । बाँकेमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । 

मङ्सिर ६ गतेबाट कम्पनीले धान खरिद सुरु गरेकोमा १० दिनको अवधीमा चार हजार क्विन्टल धान खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँले हालसम्म ६८० क्विन्टल मोटो धान र तीन हजार ३२० क्विन्टल मध्यम धान गरेर हालसम्म चार हजार क्विन्टल धान खरिद गरिसकिएको बताउनुभयो । 

प्रमुख लामिछानेले दिनदिनै धान बिक्री गर्न आउने किसानको सङ्ख्या बढ्न थालेपछि हालसम्म दुई वटा तराजु लगाएर खरिद सुरु गरिएकोमा अबदेखि तराजुको सङ्ख्या बढाएर चार वटा गरिने बताउनुभयो । उहाँले एक जना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद गर्ने कार्य भइरहेको जनाउँदै अहिले दैनिक १५ देखि १८ जना किसानको धान खरिद गरिरहेको पनि बताउनुभयो । 

यस वर्ष नेपालगन्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिईएकोमा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कार्यालयका अनुसार गैर कृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर धान विक्रीका लागि आउन अनिवार्य गरिएको छ । 

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरिरहेको छ । कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा धान बिक्रि गर्न आउनुभएका अधिकांश किसानले कम्पनीले ढिलागरि खरिद सुरु गरेकोले घाटा लागेको प्रतिक्रिया दिनुभएको छ । 

धान बिक्रिका लागि आउनुभएका जानकी ३ का किसान रमेश बर्माले धान खरिद निकै ढिला सुरु गरिएको गुनासो गर्दै अलि पहिले खरिद सुरु गरेको भए धेरै किसानलाई राम्रो मूल्य प्राप्त हुने थियो र घाटा व्यहोर्नु नपर्ने बताउनुभयो । 

यस वर्ष तोकिएको कोटा ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।