काठमाडौँ, मङ्सिर १६ गते । काठमाडौँमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषदमा ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभयो । उक्त समारोहमा उहाँले कलाले मुलुकको पहिचान विश्वसामु पुर्याउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु अत्यन्त जरुरी रहेको बताउनुभयो । मन्त्री लिम्बूले कला क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले निजी क्षेत्रबाट ३९ देशका कलाकार र उनीहरूका कृति समेटेर कला प्रदर्शनीसहित महोत्सव गर्नु आफैँमा नमुना कार्य भएको बताउनुभयो । कार्यक्रममा भारतबाट आएका मास्टर्स आर्टिष्ट एवम् अन्तर्राष्ट्रिय जलरङ समाजका उपाध्यक्ष अमित कपुरले कला सिर्जनाकै लागि आफू पटक-पटक नेपाल आएको र यहाँको सुन्दरताले आफूलाई लोभ्याएको बताउनुभयो । कार्यक्रममा कला समीक्षक रमेश खनाल, मदन चित्रकार, अन्तर्राष्ट्रिय जलरङ समाजका कोषाध्यक्ष, भीम श्रेष्ठ, महासचिव दीपेन्द्रमान नेपालीलगायतले कलाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
राससकर्मी ढुङ्गाना पुरस्कृति
कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यस्तै राससकर्मी नारायण ढुङ्गानालाई १० हजार राशिसहित अन्तर्राष्ट्रिय जलरङ पत्रकारिता अवार्डबाट सम्मान गरिएको थियो ।
जलरङको माध्यामबाट कला सृजनाको विकासमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै ढुङ्गानालाई पुरस्कृत गरिएको कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिनुभयो । सो क्रममा वाटरकलर ‘योङ आर्टिष्ट अवार्ड’बाट जीवन पौडेल र ‘इन्टरनेसनल आर्ट प्रमोसनल अवार्ड’बाट चर्चित श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी कलाकारहरूको चित्र प्रतिस्पर्धाबाट म्यान्माका कलाकार मयन्ट नइङलाई तीन सय डलरसहित स्वर्ण अवार्डबाट पुरस्कृत गरिएको छ भने एक सय ५० डलरसहित भारतका सिलम्ब्रासन के लाई कांस्य अवार्ड प्रदान गरिएको छ । यस्तै बङ्गलादेशका अरिफर रहमान टोप्पु, मेक्सिकोका बेत्रिज ए.एच.अर्टेजा र नेपालका थमन सिंह सुनारलाई उत्कृष्ट अन्तर्राष्ट्रिय वाटरकलर अवार्ड प्रदान गरिएको छ ।
बबरमहलमा मास्टर र अतिथि कलाकारबाट कला डेमोस्ट्रेसन भइरहेको छ । कार्यक्रममा झन्डै विदेशीसहित दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहेको छ । जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारहरूलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गराई कला सिर्जना गराइने छ ।
धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्रहरू जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवर्द्धनमा पनि ठुलो सहयोग पुग्ने विश्वास गरिएको आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले बताउनुभयो । यसअघि समाजले महोत्सवकै रूपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसै गरी कार्यक्रम गरिसकेको छ । रासस