साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर १६ गते । पैसा कमाउन विदेश जानुपर्छ भन्ने मान्यतालाई निरुत्साहित गर्न यहाँका तीनजना युवाले सामूहिक माछापालन गरेर उदाहरणीय काम गर्नुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–३, स्थित तिमुरेखोला नजिक करिब आठ रोपनी जग्गा भाडामा लिएर स्थानीय पूर्ण रोका मगर, तेजेन्द्र बुढा र यामेन्द्र रोकाले सामूहिक रूपमा माछापालन गर्नुभएको हो ।
२०७९ साल कात्तिकमा जग्गा भाडामा लिएर मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी सुरुमा आठ लाख रुपियाँ लगानीमा ६ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्नुभएका उहाँहरू अहिले १० वटा पोखरी निर्माण गरिसक्नुभएको छ । रेसवे निर्माणमा मात्र करिब २० लाख रुपियाँ लगानी भएको योमेन्द्र रोकाले बताउनुभयो ।
सुरुमा गण्डकी रेन्बो ट्राउट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको थियो । करिब ९ महिनामा माछा विक्रीका लागि तयार हुने पूर्ण रोका मगरको भनाइ छ । अहिले पोखरीमै भुरा उत्पादन भइरहेको उहाँले बताउनुभयो । अहिले पोखरीमा १२ हजार बढी माछा हुर्किरहेका छन् ।
‘‘पहिलो वर्ष करिब सातसय केजी बराबरको माछा बेचिएको थियो, दुई हजार केजी उत्पादन गर्ने लक्ष्य छ’’ सञ्चालक पूर्णले भन्नुभयो । पहिलो वर्ष नाफा कमाउन नसकिएको बताउनुहुँदै उहाँले यस वर्ष भने केही नाफा कमाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
माछा पालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ छ । वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने बताउनुभयो । पोखरीबाटै माछा विक्री हुनेगरेको अर्का सञ्चालक तेजेन्द्रले बताउनुभयो । यहाँ उत्पादित माछा नजिकको दरबाङ बजारसहित सदरमुकाम बेनी बजार र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उहाँले बताउनुभयो ।
पहिलो वर्ष प्रतिकेजी १२ सय रुपियाँमा विक्री गरिएकोमा यस वर्ष भने दानाको मूल्य बढेकाले १३ सय रुपियाँमा बेच्ने गरिएको छ । बजारमा माछाको माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको सञ्चालक तेजेन्द्रले बताउनुभयो । त्यहाँ उत्पादित माछा आफ्नै रेस्टुरेन्टमा समेत खपत हुनेगरेको छ । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उहाँहरूको भनाइ छ ।
तीनै जना युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेश जानुभएको थियो । पूर्ण कतारमा ६ वर्ष र यामेन्द्र कतारमै तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गर्नुभयो । गाउँमै बसेर कृषि पेसामा रहर लागेपछि विदेशबाट फर्किएर माछापालन सुरु गरिएको पूर्णले बताउनुभयो ।
वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट घेरबार गरिएको छ । सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो पक्रिया भएको तथा त्यसमाथि पनि वास्तविक किसानसँग पुग्न नसकेको माछापालक पूर्णको गुनासो छ ।
आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा पालन सुरु गरिएको फर्ममा परिवारका अन्य सदस्यले समेत साथ दिनुभएको छ । वडा अध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाहरूको लगानीमा व्यावसायिक माछापालन अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।