• ६ जेठ २०८१, आइतबार

गुल्मीमा चोरीका घटना बढ्दो तर पक्राउ पर्दैनन् चोर

blog

घुमुवा प्रहरी भने जुवा तास खालमा पुगेर पैसा असुल्ने र जनतालाई दुख दिने गरी काम गर्ने गरेको स्थानीयको आरोप छ । शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरीले जनतालाई दुख दिने भन्दा पनि जनताको सुरक्षामा केन्द्रित बन्न प्रहरीलाई स्थानीयहरूले सुझाव दिएका छन् । 

तम्घास,मङ्सिर १६ गते । गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।

सत्यवती गाउँपालिका वडा नम्बर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शङ्कर थापाले सञ्चालन गरेको औषधि पसलबाट आठ हजार नगद, पुष्पा अर्यालको  करिब ३० हजार नगद, सीता होटेलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन, मति पाण्डेको घरबाट पुराना सामग्रीहरू चोरी भएको थियो । लिम्घामा रहेको  कुमारी बैङकंको ब्रान्च लेस बैङ्किङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको थियो ।

हुन त गुल्मीका लागि यो कुनै नौलो घटना भने होइन, विगतका वर्षहरूमा पनि चन्द्रकोट, गुल्मी दरबार, मालिका र सत्यवतीका विभिन्न स्थानहरूमा घर, वडा कार्यालय तोडफोड गरी चोरी भयो । त्यी घटनामा संलग्नहरूलाई अझै सम्म पनि प्रहरीले सार्वजनिक गर्न सकेको छैन । तर प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरी भने जुवा तास खालमा पुगेर पैसा असुल्ने र जनतालाई दुख दिने गरी काम गर्ने गरेको स्थानीयको आरोप छ । शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरीले जनतालाई दुख दिने भन्दा पनि जनताको सुरक्षामा केन्द्रित बन्न प्रहरीलाई स्थानीयहरूले सुझाव दिएका छन् । 

गत असार महिनाको पहिलो हप्ता काली गण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङको खमरे पाटा बस्ने सकुल थापाको घरबाट एक हजार पाँच सय नगद, रेनुका थापाको घरबाट मोबाइल सेट, कोपिला थापाको घरबाट आधा तोलाका सुनको औँठी, देवराज पुनको घरबाट मोबाइल सेट, लुमबहादुर मगरको घरबाट मोबाइल सेट चोरी भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  

यस्तै केही दिन पहिले मालिका गाउँपालिका ७ को भानु पोखरा र वडा नम्बर ६ अर्जैका घरहरूमा चोरी भएको छ । फेन्सी पसल ,किराना पसल र घरहरू फोडेर करिब एक लाखको क्षति भयो । अर्जैका नास्ता पसल, फलफूल पसले र स्थानीयका घरबाट गरगहना समेत चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीका घटनामा संलग्नको पहिचान नहुनु र प्रहरीले पक्राउ गर्न नसक्नुले पनि थप भय हुने गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।

सुरक्षा दिने राज्यको दायित्व: नागरिक समाज

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले चोरीका घटनाहरूलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।  जनताको जिउ धनको सुरक्षा दिनु राज्यको दायित्व भएको भन्दै जनताले सुरक्षाको  प्रत्याभूति पाउनु पर्ने उहाँको तर्क छ । 

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविनकिशोर प्रधानले चोरीका घटनामा वृद्धि भएको स्वीकार गर्नुभयो । उहाँले चोरीका घटनामा संलग्न भएको आशङ्कामा केही व्यक्तिहरूलाई बोलाई सोधपुछ गरी राखेको बताउनुभयो । घटनाको बारेमा आफूहरूले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रधानले दाबी गर्नुभयो । 

Author

तिलाचन पाण्डे