• १२ साउन २०८१, शनिबार

सक्षम र सबल नगरपालिका बनाउँछु

blog

सप्तरीको खडक नगरपालिकाको प्रमुख आर्थिक आधार कृषि र पशुपालन  नै हो । यहाँका ९५ प्रतिशत नगरवासी कृषिमा नै आबद्ध छन् तर पनि कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि ठोस योजना बन्न सकेको छैन । आकासेपानीको भरमा खेतीपाती निर्भर छ । नगरपालिका भने कृषिभन्दा पनि शिक्षामा लगानी बढाउँदै लैजाने सोचमा छ । नगरपालिकालाई शिक्षाको ‘हब’ बनाउने योजना अगाडि सारिएको छ । नगरपालिकाको हालको अवस्था र भावी योजनाका बारेमा नगरपालिका प्रमुख जयप्रकाश चौधरीसँग गोरखापत्र दैनिकका सप्तरी समाचारदाता देवरामप्रसाद यादवले गर्नुभएको कुराकानी :

तपाईंले नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको डेढ वर्षभन्दा बढी भयो । यस अवधिमा के कस्तो अनुभव गर्नुभएको छ ? 

मैले  विगतको वर्षलाई केही अनुभव  गर्ने र  सिक्ने वर्षका रूपमा लिएको छु । डेढ वर्षमा नगरपालिकाका लागि केही ऐन, कानुन र कार्यविधि बनाउनेमा बढी केन्द्रित भइयो । नगरपालिकाको सम्पूर्ण विषयको मूल्याङ्कन गर्ने र आगामी दिनमा कस्तो सुधार गर्न सकिन्छ भन्ने चिन्तन, मनन र छलफल गर्नमा समय व्यतीत भयो ।  यतिबेला भने नगरपालिकाका लागि आवश्यक ऐन, कानुन र कार्यविधि तयार भइसकेको छ । त्यसैको आधारमा आगामी दिनमा जनताको आवश्यकता पूरा गर्न योजना र कार्यव्रmम बनाउन तथा कार्यान्वयन गर्न सहज र सरल हुने छ । 

तपाईंले निर्वाचनको समयमा नगरवासीसमक्ष गर्नुभएका प्रतिबद्धता कति पूरा गर्नुभयो ? 

हामीले निर्वाचनको समयमा जनताबिच प्रस्तुत गरेको चुनावी घोषणापत्र अनुसार नै काम सुरु गरेका छौँ । किसानको जीवनस्तरमा सुधार गर्न कृषि साक्षेदारी कार्यव्रmम अन्तर्गत कृषिमा विद्युतीकरण गरी कृषि मिटरको बिल नगरपालिकाले तिर्ने गरी योजना बनाएका छौँ । सुकुमवासी, दलित, भूमिहीनका लागि जग्गा वितरण, मेयर विपन्न आवास कार्यव्रmम, विपन्न छात्रवृत्ति कार्यव्रmम लागु गर्ने योजना बनिरहेको छ । टायल उद्योग, प्राङ्गारिक मल उद्योग सञ्चालन भएमा ग्रामीण बेरोजगारलाई सिप र रोजगारीसहितको एकीकृत कार्यव्रmम पनि ल्याउने तयारी गरेका छौँ । 

नगरपालिकामा के कस्ता समस्या र चुनौती पाउनुभयो त ? 

खडक नगरपालिकामा कर्मचारी अभावका कारण धेरैजसो काम समयमा सम्पन्न गर्न कठिनाइ भइरहेको छ । पालिकामा केही अराजकता देखिएकाले यसलाई निर्मूल गर्न शिक्षामा बढी जोड दिइएको छ । पालिकामा कृषिमा आधारित परिवार बढी भए पनि सिँचाइ सुविधा नभएकाले आकासेपानीको भरमा खेतीपाती गर्नु परिरहेको छ ।  कृषकका लागि सिँचाइ सुविधाको कार्य अगाडि बढाएका छाँै । सङ्घीय सरकारको ससर्त अनुदानबाट फोहोरमैला र दिसाजन्य लेदो व्यवस्थापन गर्न एक बिघा क्षेत्रफलमा ट्रेन्च निर्माण, पाँच वटा गाउँलाई नमुना सफा गाउँ घोषणा गरिएको छ ।  क्याम्पस सञ्चालन अनुमति प्राप्त भएको छ । गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे सेवा, प्रदेशस्तरीय ल्याब सेन्टर, सर्पदंश सेवा, बर्थिङ सेन्टर, कोल्ड स्टोरका  लागि बजेट व्यवस्थापन भएको छ ।  त्यस्तै चिल्ड्रेन पार्क निर्माण, बालविवाहमुक्त नगरपालिका घोषणा, स्थानीय भाषामा पाठक्रम निर्माण, अङ्ग्रेजी माध्यमबाट ४१ वटै बाल शिक्षामा पढाइ सुरु गरिएको छ ।  भौतिक संरचना निर्माणमा सडक, पुल पुलेसालगायतका काममा तीव्रता दिइएको छ । विद्यालयको दयनीय भौतिक पूर्वाधार, स्वास्थ्य संस्थाहरूको लथालिङ्ग व्यवस्थापनलगायतका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यसको समाधानका लागि विस्तृत अध्ययन गरेका छौँ । स्थानीय सरकारसँग जनताका अपेक्षा धेरै हुनु स्वाभाविक पनि हो । बाँकी साढे तीन वर्षमा ती अपेक्षा पूरा हुने गरी काम गर्न हामी लागिपरेका छौँ । 

समस्या त धेरै रहेको बताउनुभयो कसरी समाधान गर्नुहुन्छ त ? 

विभिन्न चुनौती सामना गर्दै समस्याको समाधान गरेर उत्कृष्ट नगरपालिका बनाउने हाम्रो लक्ष्य छ । खडक नगरपालिकालाई सक्षम, सबल  बनाउन विद्यालय सुधारको अभियान थालिएको छ ।  विद्यालयलाई टिनको छानामुक्त बनाउने तथा शिक्षा, कृषि, स्वास्थ्य र सडकलाई उच्च प्राथमिकतामा राखिएको छ । रोजगार, खेलकुद, सिप विकास, गरिबी निवारणलाई साथसाथै अगाडि बढाउने लक्ष्य छ । अस्पताल र स्वास्थ्यकेन्द्रप्रति जनताको विश्वास बढाउने अभियान पनि सुरु गरिसकेका छौँ । 

नगरपालिकाभित्र अनियमितता हुने गरेको चर्चा पनि उत्तिकै सुनिने गरेको छ ।  अनियमिततालाई कसरी रोक्नुहुन्छ ? 

अख्तियारको टोली आएर आयोजनाको अनुगमन गरेर मेरो आँखा पुग्न नसकेको ठाउँमा निगरानीमा राख्दै नगरपालिकाको सम्पूर्ण टिमलाई सचेत गराएको छ । यसले मलाई निकै सहयोग पुगेको छ । योसँगै कामै नगरी भुक्तानी लिन चाहनेलाई पनि सजग गराएको मैले ठानेको छु । आगामी दिनमा हुन सक्ने अनियमितताका गतिविधितर्फ म थप सजग भएर काम गर्ने छु । 

चालु आवको बजेट तथा कार्यव्रmममा कस्ता विषयलाई प्राथमिकतामा राख्नु भयो ? 

नगरपालिकाले चालु आवका लागि ७९ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । बजेटमा शिक्षा, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार, आत्मनिर्भर वृद्धिमा जोड दिइएको छ । बजेट जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले जनताका विकासका चाहना पूरा गर्न बजेट बाँडफाँट गरिएको छ ।  

नगरपालिकाका भावी योजना र कार्यक्रम के के छन् ? 

स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुने भएका कारण यसले धेरै ठुला ठुला योजन र कार्यक्रम बनाउन सक्दैन । हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, कृषि, स्वास्थ्य, सरसफाइ, भौतिक विकासलगायतका विषयमै काम गर्नुपर्ने हुन्छ । ती नै क्षेत्रमा हामी केन्द्रित छौँ । 

प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य कस्तो छ ? 

प्रदेश र सङ्घीय सरकारसँग हामीले प्रस्ट रूपमा भनेका छौँ । हामीलाई दिने ससर्त अनुदान र अन्य बजेट वडाबाटै सिफारिस भई नगरपालिकाले पनि अगाडि बढाएको योजना अनुसार हुनु पर्छ । बजेट जनताका समस्या समाधानका लागि हुनु पर्छ । कुनै नेता र व्यक्तिविशेषले टिपाएको र सिफारिस गरेको आधारमा अनुदान र बजेट दिने गरिएको छ । त्यो उपलब्धिपूर्ण हुँदैन । स्थानीय सरकारसँग समन्वय नै नगरी बजेट र योजना पठाउने काम पनि भएको छ । यस्तो काम रोक्नु पर्छ ।