• १२ मंसिर २०८१, बुधबार

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

blog

आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह ।

भेरीगङ्गा (सुर्खेत), मङ्सिर १४ गते । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो । 

आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी सुरु गरिसकेको जानकारी दिनुभयो । “प्रदेश सरकार यसै आवमा लगानी सम्मेलन गर्ने गरी तयारीमा जुटेको छ”, मन्त्री सिंहले भन्नुभयो, “हाम्रो वार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ । त्यहीअनुसार अहिले हामी तयारीमा लागेका छौँ ।” 

कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी सरकारले योजना बनाएको बताउँदै उहाँले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने मन्त्री सिंहले बताउनुभयो । “कर्णालीका लागि उपयुक्त हुने खालका उद्योग स्थापना गर्ने र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशमा रहेका स्रोतको उचित रूपमा प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउने गरी लगानी सम्मेलन गर्दै छौँ”, उहाँले भन्नुभयो । कर्णालीको स्रोतको उचित परिचालन गरी आन्तरिक आम्दानी बढाउने गरी सरकारले काम थालेको भन्दै त्यसमा सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको उहाँको भनाइ छ । रासस