• १९ पुस २०८१, शुक्रबार

आँबुखैरेनी अस्पतालमा 'डायलासिस' सेवा

blog

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालन ल्याउन लागेको ‘डायलासिस’ सेवाको भवन ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर १४ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका मिर्गौला बिरामीलाई डायलासिसको लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ। गाउँपालिकाले सुरु गरेको आँबुखैरेनी अस्पतालमा छुट्टै युनिट स्थापना गरी ‘डायलासिस’ सेवा प्रदान गर्ने भएकाले सो अन्त्य हुने भएको हो । 

डायलासिस सेवा प्राप्त गर्न महिनौँसम्म पालो कुर्नुपर्ने कठिनाइलाई ध्यानमा राखी सेवा सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सेवा चाँडै नै सञ्चालन गरिने र त्यसको लागि तीन थान डायलासिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको उहाँले बताउनुभयो । ‘डायलासिस’ युनिटको लागि पाँच उपकरण हुनुपर्ने भएपनि तीन वटा मात्रै भएकोले समस्या परेकोले थप दुई उपकरण माग गरिएको चुमानले बताउनुभयो । 

करिब ४३ लाख ९२ हजार बराबरको डायलासिस उपकरण आइपुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलासिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत लगायतको ध्यानाकर्षण गराइएको थियो । सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलासिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "लामो प्रयासले सार्थकता पाएको छ, अब चाँडै नै डायलासिस सेवा सुरु हुन्छ ।" गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

मिर्गौला पीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरिएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता अन्त्य गर्न सेवा सुचारु गर्न लागिएका उपाध्यक्ष अर्याल बताउनुहुन्छ । हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर सञ्चालनमा छ । मिर्गौलापीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ ।