• १८ चैत २०८१, सोमबार

संविधान कार्यान्वयनमा कांग्रेसको जोड

blog

बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्मा

काठमाडौं, मङ्सिर १३ गते। सत्तारुढ प्रमुख घटक नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ। बुधबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो। 

संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिकाटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस हामी आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको पक्षमा छौं। यो संविधानको पूर्ण कार्यान्वयन नभइकन यसका बारेमा टिकाटिप्पणी गर्नु उपयुक्त होइन भन्ने निष्कर्ष छ। आज हामी त्यही निष्कर्षमा पुगेका छौं। अहिले संविधान कार्यान्वयनमा देखिएको जेजे समस्या छन, त्यसलाई नै हामीले राजनीतिक रुपमा उठेका प्रश्न भनेका छौं। संघीयताका कुरा, संघीयतामा प्रदेशलाई अधिकार दिने कुराहरु, केही कानुनहरु निर्माण गर्न बाँकी छन्। संविधानको पक्षमा नेपाली कांग्रेस प्रतिवद्ध छ। यसलाई कार्यान्वयनमा क्रियाशील भएर लाग्छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ।’’

अस्थायी आवासका लागि एकै किस्तामा ५० हजार दिन सरकारलाई सुझाव

बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो। 

बैठकमा पार्टी उपसभापति समेत रहनुभएका रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए। बैठकमा कांग्रेस नेताले भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको चिसोले ज्यान जानेक्रम सुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए।

पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘‘भूकम्प प्रभावित क्षेत्रमा रकम पठाइसकिएको, तर अझै पनि स्थानीय तहमा र पीडितको हातमा रकम नपुगेको कुरामा हामी गम्भिर भएका छौं। चाँडै नै पठाउँछौं, पुग्दैछ भन्ने कुरामा जानकारी भयो। तर पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा त्यो रकम एकै पटक दिनुपर्छ भनेर सरकारलाई भनिएको छ। त्यसैगरी सुत्केरी, गर्भवती महिला चिसोबाट प्रभावित भएका छन्। वृद्धवृद्धाहरुको मृत्यु नै भएको छ। त्यसमा आवश्यक व्यवस्था सरकारले गरोस भन्ने कुरा भएको छ।’

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो।