• २ असार २०८१, आइतबार

मन्त्रालय मातहतका निकायको सम्पत्ति सदुपयोग भएन : सञ्चारमन्त्री शर्मा

blog

बुधबार काठमाडौँमा आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायत ।

काठमाडौं, मङ्सिर १३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

बुधबार काठमाडौँमा आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पत्ति भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताउनुभएको हो। 

उहाँले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिनुभयो। मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याँई गर्न नहुने पनि पटकपटक दोहोर्‍याउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हाम्रा सरकारी सञ्चार माध्यम, निकाय, अरू पनि क्षेत्रहरू छन्। हामी सबै कस्ता भयौ भने सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने जस्ता हामी भयौँ। सम्पत्ति छ। तर सम्पत्तिलाई प्रयोग गर्न सकेका छैनौँ। हाम्रा केही ऐन, कानुन बाधक छन् ? हामीले यसलाई प्रयोग गर्न नसकेर तलब खुवाउन पनि हारगुहार गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ। वास्तवमा यसलाई गहिरो ढङ्गले समीक्षा गर्न जरुरी छ।’’ 

उहाँले रेडियो नेपालका समस्यालाई ठिक ढङ्गले पहिचान गर्न अनुरोध गर्नुभयो। ‘‘रेडियो नेपालका निर्देशकसहितको टिमले समस्याको ठिक ढङ्गले पहिचान गर्नुस्। हाम्रा यस्ता पाका, पुराना स्रष्टाले यति धेरै गुनासो गर्ने स्थितिमा हामीले पुर्‍याउनु हुँदैन। उहाँहरूप्रतिको सम्मान राज्यले गर्न सक्नुपर्छ। त्यो सम्मान गर्ने सामर्थ्य हामीसँग छ भन्ने मलाई लाग्छ। तर हामीसँग सामर्थ्य छ, साधनस्रोत छ। सबै थोक छ। हुँदाहुँदै पनि किन हामीले गर्न सकिरहेका छैनौँ ? हाम्रा कानुन बाधक हुन भने कानुनी बाटो खोलौँ। क्याबिनेटमा लगेर यसको समस्या समाधान गर्न हामी तयार छौँ।’’

मन्त्री शर्माले रेडियो नेपालसहितका निकायलाई प्रभावकारी बनाउन कानुन बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उहाँले पुराना स्रष्टा र सर्जकलाई रोयल्टी दिने कुरामा सरकार गम्भीर रहेकोसमेत बताउनुभयो।