• १२ साउन २०८१, शनिबार

ताप्लेजुङका लागि माध्यमिक तहका शिक्षक सिफारिस

blog

फाइल तस्बिर

चन्द्र पन्दाक 

ताप्लेजुङ, मङ्सिर १३ गते। खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका २३ जना शिक्षक ताप्लेजुङका लागि सिफारिस भएका छन्। विज्ञान, गणितलगायत विषयका उक्त सङ्ख्यामा शिक्षकहरू स्थायी नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भएका हुन्।

शिक्षक विकास निर्देशनालय धनकुटाबाट यस जिल्लाका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकमध्ये सबैभन्दा बढी विज्ञान विषयका १२ जना रहेका छन्। त्यस्तै गणित विषयका आठ जना, सामाजिकका दुई र अङ्ग्रेजी विषयका एकजना शिक्षक सिफारिस भई आएका शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ। 

निर्देशनालयबाट ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई स्थायी नियुक्तिका लागि स्थानीय तह रोज्न शिक्षा विकास तथा समन्वय इकाईले समय दिएको छ। समन्वय इकाई ले सूचना जारी गर्दै आफूले चाहेको स्थानीय तह (ठाउँ) रोज्नका लागि सम्बन्धित शिक्षकले मङ्सिर १७ गते आइतबार सम्ममा निवेदन दिइसक्न उल्लेख गरेको छ।

इकाई प्रमुख योगेश्वर भट्टराईका अनुसार जिल्लाको नौवटै स्थानीय तहलाई शिक्षक कोटा (सङ्ख्या) विभाजन गरिएको र सो अनुसार शिक्षकले निवेदन दिनुपर्ने भएको छ। 

भट्टराईले सम्बन्धित स्थानीय तहमा विषय शिक्षक आवश्यकता रहेको आधारमा कोटा विभाजन गरिएको जानकारी दिनुभयो। शिक्षकले ठाउँ रोजेपछि सोअनुसार सम्बन्धित स्थानीयका विद्यालयमा नियुक्तिको प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ।