बाबुराम कार्की
वराहक्षेत्र, जेठ २ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित क्याम्प चौरीक्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणको अभावमा हराउँदै गएको छ । सप्तकोशी सामुदायिक वनभित्र रहेको उक्त स्थान तत्कालीन राजा महेन्द्रले सिकार खेल्न आउँदा बसोबास तथा विश्रामका लागि प्रयोग गर्ने अस्थायी क्याम्पका रूपमा परिचित थियो ।
चतरा र महेन्द्रनगरको बिचमा पर्ने क्याम्प चौरीक्षेत्रमा रहेको पुरानो संरचना अहिले भग्नावशेषमा सीमित बनेको छ । स्थानीयका अनुसार विसं २०१३/१४ तिर राजा महेन्द्र सुनसरीको चुरे तथा वनक्षेत्रमा सिकार खेल्न आउँदा उक्त स्थानलाई अस्थायी क्याम्पका रूपमा प्रयोग गरिन्थ्यो । स्थानीय युवराज भट्टराईका अनुसार त्यहाँ पहिले इँटाले बनेका तीन वटा घर थिए । उहाँले भन्नुभयो, “गाईवस्तु चराउन जाँदा हामीले ती घर देख्थ्यौँ । अहिले त्यहाँ कुनै भवन छैन । भवन भएको स्थानमा अझै पनि इँटाका टुक्रा भेटिन्छन् ।”
स्थानीयले देख्दै आएका ती घर तथा त्यहाँ रहेका सामग्री समयसँगै हराइसकेका छन् अहिले पनि वनक्षेत्रमा छरिएका इँटाका टुक्राले त्यहाँ कुनै समय राजा महेन्द्रको सिकार क्याम्प रहेको भग्नावशेष रहेको छ । स्थानीय खेमबहादुर बस्नेतले भन्नुभयो, “बर्सौंदेखि संरक्षण नहुँदा ऐतिहासिक महìव बोकेको उक्त स्थानमा अहिले भग्नावशेषबाहेक केही बाँकी छैन ।”
हाल भवन रहेको क्षेत्र झाडीले ढाकिएको छ । ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि संरक्षण अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । बस्तीनजिकै रहेको क्याम्प चौरी सामुदायिक वनक्षेत्रभित्र पर्छ । स्थानीय युवराज भट्टराईका अनुसार सुरुदेखि नै संरक्षणमा चासो नदिइँदा भग्नावशेषसमेत बिस्तारै माटोमा विलिन हुँदै गएका छन् । उहाँले भन्नुभयो, “सम्बन्धित निकायले चासो नदिँदा ऐतिहासिक सम्पदा हराउने जोखिम बढेको छ ।”
स्थानीयका अनुसार सात दशकअघि त्यहाँ राजा सिकार खेल्न बस्ने भवन तथा सुरक्षाकर्मीका लागि छुट्टै संरचना थिए । भवन वरिपरि घना जङ्गल र बिचमा फराकिलो चौर भएकाले स्थानीयले त्यस क्षेत्रलाई बोलीचालीमा ‘क्याम्प चौरी’ भन्न थालेको स्थानीयको भनाइ छ ।
भट्टराईले सम्झँदै भन्नुभयो, “गाईवस्तु चराउन जङ्गल पस्दा हामी ती भवन देख्थ्यौँ ।
झ्यालढोका बिग्रिएका थिए तर पर्खाल र छाना भने बाँकी थिए । अहिले ती संरचना भग्नावशेषमा सीमित छन् ।”
क्याम्प चौरीको पश्चिमदक्षिण क्षेत्रमा राजा महेन्द्रको स्वागतका लागि निर्माण गरिएको ‘महेन्द्रगेट’ अहिले पनि सोही नामले चिनिन्छ । स्थानीय हिराण्य कार्कीका अनुसार नयाँ संरचना निर्माण भए पनि गेटको नाम परिवर्तन गरिएको छैन । यो स्थान अझै पनि राजकीय भ्रमणको स्मृतिसँग जोडिएको प्रतीकका रूपमा रहेको उहाँ बताउनुहुन्छ ।
स्थानीयवासीका अनुसार राजा महेन्द्र हालको वराहक्षेत्र–९, राजाबास महेन्द्रगेट, सैनिक टोल क्षेत्रसम्म पुगेर सप्तकोशीको दृश्यावलोकन गर्ने, विश्राम लिने तथा मचान बनाएर सिकार खेल्ने गर्थे । संरक्षण अभावमा यी ऐतिहासिक सम्पदा ओझेलमा पर्दै गएका छन् । क्याम्प चौरीको संरक्षण, पुनर्निर्माण र प्रचारप्रसार गर्न सकियो भने यी स्थल इतिहास र पर्यटनका आकर्षक गन्तव्य बन्न सक्छन् ।