रमेश विश्वकर्मा
गुल्मी, जेठ २ गते। गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ। एक समारोहका बीच यस विद्यालयद्वारा चार जीपीए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई एक लाख रुपियाँ नगदसहित सम्मान गरिएको हो। अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर–७, निवासी पाण्डेले महेन्द्र माध्यमिक विद्यालय तम्घासबाट एसइईमा चार जीपीए प्राप्त गरी सफल हुनुभएको हो।
विद्यालयले उहाँलाई नगदसँगै प्रमाणपत्र, खादा तथा मेडल प्रदान गरेको छ। विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीका अनुसार यस वर्षको एसइईमा सहभागी ८० जना विद्यार्थीमध्ये ६८ जना विद्यार्थी उत्तीर्ण भएका छन्। जसअनुसार विद्यालयको उत्तीर्ण प्रतिशत ८५ रहेको छ। ३.६ देखि ३.९९ जीपीए प्राप्त गर्ने १३ जना, ३.२ देखि ३.५९ जीपीए प्राप्त गर्ने २३ जना, २.८ देखि ३.१९ जीपीए प्राप्त गर्ने २३ जना तथा २.४ देखि २.७९ जीपीए प्राप्त गरी उत्तीर्ण हुने आठ जना विद्यार्थी रहेका छन्।
सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले विद्यालयले प्राप्त गरेको उत्कृष्ट नतिजा त्रिपक्षीय समन्वयको प्रतिफल भएको बताउनुभयो। उहाँले विद्यालय, शिक्षक र अभिभावकबिचको सहकार्यकै कारण हरेक वर्ष विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार विद्यालयमा २०५७ सालदेखि विज्ञान संकाय सञ्चालन हुँदै आएको छ भने २०६५ सालदेखि १०+२ तहमा शिक्षा, व्यवस्थापन तथा मानविकी संकाय सञ्चालनमा रहेका छन्।
विद्यालयले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको र यहाँ अध्ययन गरेका विद्यार्थीहरु मेडिकल, लोकसेवा आयोग, शिक्षक सेवा आयोग, नेपाली सेना तथा प्रशासनिक सेवाका उच्च पदमा पुग्न सफल भएको उहाँले बताउनुभयो। कार्यक्रममा बोल्दै चार जीपीए प्राप्त गर्न विद्यार्थी अस्मिता पाण्डेले आफ्नो सफलताको श्रेय विद्यालय, गुरुहरु तथा अभिभावकलाई दिनुभयो। बालविकासदेखि कक्षा १० सम्म सो विद्यालयमा अध्ययन गर्नुभएकी पाण्डेले विद्यालय प्रदान गरेको अनुशासित शैक्षिक वातावरण, शिक्षकहरुको निरन्तर मार्गदर्शन तथा परिवारको साथ–सहयोगका कारण आफूले यो उपलब्धि हासिल गर्न सकेको उहाँको भनाइ थियो।
उहाँले मेहनत, निरन्तर अध्ययन र सकारात्मक सोचका कारण सफलता सम्भव भएको अनुभव सुनाउँदै आगामी दिनमा अझ उत्कृष्ट अध्ययनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम पाण्डे तथा शिक्षक अभिभावक संघका अध्यक्ष युवराज भण्डारीले विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। विद्यालयका सल्लाहकार समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले महेन्द्र माध्यमिक विद्यालय गुल्मी जिल्लाकै केन्द्रीय विद्यालयका रुपमा स्थापित भएको बताउँदै यसको शैक्षिक प्रतिष्ठालाई अझ मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
यसैगरी, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले हालको उत्तरपुस्तिका परीक्षण प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले रेसुङ्गा नगरपालिकाभित्र यस वर्ष १० जना विद्यार्थीले ४ जीपीए ल्याउने प्रक्षेपण गरिए पनि नतिजा त्यसअनुसार आउन नसकेको उल्लेख गर्दै अझ मेहनत र गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। नगरप्रमुख पन्थीले स्थानीय सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि कुनै कमी हुन नदिएको बताउँदै सामुदायिक विद्यालयहरूको नतिजा पछिल्लो समय निरन्तर सुधार हुँदै गएको धारणा व्यक्त गर्नुभयो।
विद्यालयमा दक्ष तथा अब्बल शिक्षकहरुको उपस्थिति रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा नगरपालिकाको शैक्षिक गुणस्तर अझ उकास्न सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। सोही अवसरमा कक्षा १० मा अध्यापनरत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो।