• १७ जेठ २०८१, बिहिबार

मेलम्चीमा चलखेल : उपत्यकामा खानेपानीकाे अभाव

blog

उपभोक्ताको गुनासाको चाङ : चाँडै पानी ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौँ,  मङ्सिर १४ गते । गत वर्ष  मङ्सिर २३ गते काठमाडौँमा मेलम्चीको पानी आउँदा उपत्यकाका उपभोक्तामा खुसी छाएको थियो । मेलम्चीको पानी अब निरन्तर उपभोग गर्न पाउने उनीहरूको विश्वास थियो । तर बाढीको जोखिम देखाएर मेलम्ची खानेपानी विकास समितिले सात महिनामै (जेठ २७ गते) पानी वितरण बन्द गरिदियो । 

बाढीको जोखिमलाई देखाएर बन्द गरिएको पानी मङ्सिर मध्यसम्म वितरण हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी उपभोक्ताको गुनासो आए पनि वितरणको विषयमा ठोस जवाफ दिन सक्नुहुन्न । उपत्यकामा मेलम्चीको पानी वितरणसम्बन्धी जिज्ञासामा सरोकारवालाले ओठे जवाफ मात्र दिने गरेका छन् । आयोजनाका निर्देशक अन्सारीको जवाफसमेत बनावटी छ, ‘‘काम गर्दै छौँ, छिट्टै ल्याएर वितरण गछौँ ।’’ 

गत असार र साउनमा आएको बाढीले मेलम्ची आयोजनाको हेडवक्र्स र मुख्य बाँधसम्म पुग्ने अस्थाई पुल र सडक नै बगाएको छ । अहिलेसम्म मर्मतका लागि आयोजनाका पदाधिकारी नै मुहानसम्म पुग्न नसकेको बताउँछन् । अन्सारी भन्नुहुन्छ, “गत असार र साउनमा आएको बाढीले मुहानसम्म पुग्ने पूर्वाधारमा क्षति पुराएको छ । अहिले ती पूर्वाधारहरू निर्माणको क्रममा छन् । दुई–तीन दिनमा सकिन्छ। त्यसपछि मात्र मुहानको अध्ययन गर्छौँ ।”

उपभोक्ताको पीडालाई पदाधिकारीले गम्भीर रूपमा नलिएको देखिन्छ । काठमाडाै‌का उपभोक्ताले चाँडै पानी आउने आशा मारेका छै्नन् । तर आयोजनाका पदाधिकारी मुहान र हेडवक्सको लेदो माटो ड्रोन क्यामेराबाट हेरेर बसेका छन् । ‘‘हेडवक्ससम्म पुग्ने सडक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अबको दुई–तीन दिनमा मुहानमा पुग्न सकिन्छ’’, अन्सारी भन्नुहुन्छ, ‘‘ड्रोनको सहायताले खिचिएको भिडियोमा मुहान र हेडवक्र्समा लेदोसहितको माटो जमेको देखिन्छ । थप अध्ययन भने मुहानमा पुगेपछि मात्र हुन्छ ।’’ 

मङ्गलवार मात्र खानेपानी मन्त्री महिन्द्र राय यादवले छिटोभन्दा छिटो उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बताउनुभएको छ  । आयोजनाको मुहानमा बाढीले पुराएको क्षतिपछिको मर्मतका लागि अर्थ मन्त्रालयले बजेट दिने विषयमा अर्थ मन्त्रालय सकारात्मक भएको बताउनुभयो । मेलम्चीको पानी छिटो काठमाडौँ ल्याएरै छाड्ने यहाँको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २ गते मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि उहाँले मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा सरकार जुनसुकै व्यवस्थापन गर्न तयार रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीले आर्थिक व्यवस्थापनको समस्या नहुने प्रतिबद्धता जनाउनु भए पनि अहिलेसम्म उपत्यकामा पानी ल्याउन सकिएको छैन ।

उपत्यकामा पानी वितरणको चाप

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी नआउँदा उपत्यकामा पानी वितरणको चाप बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्ची आयोजनाअन्तर्गतको पानी नआउँदा वितरणमा समस्या भएको हो । उहाँले भन्नुभयो, “मेलम्ची आयोजना अन्तर्गतको पानी नआउँदा वितरण प्रक्रियामा चाप बढेको छ । अहिले हामीले वितरण प्रणालीलाई केही दिन लम्ब्याउँदै गएका छौँ ।” 

विकल्पको रूपमा रहेका उपत्यका वरपरको मुहान पनि सुक्दै जान लागेकाले वितरण प्रक्रिया केही प्रभावित बनेको उहाँको भनाइ छ । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उपत्यका वरपर रहेका पुराना मुहानबाट सङ्कलित पानी वितरण गर्दै आएको छ । पानीका मुहान सुक्दै जाँदा जमिन मुनीको पानी बोरिङ गरेर प्रशोधन गरेर वितरण गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । 

उपत्यकामा दैनिक ४७ करोड लिटर पानी माग 

काठमाडौँ उपत्यकामा अहिले दैनिक ४७ करोड लिटर पानीको माग छ । तर, अहिले भने १० करोड लिटर पानी मात्र वितरण भइराखेको छ । लिमिटेडका प्रवक्ता राईका  अनुसार मेलम्चीको पानी आएको समयमा थप दैनिक १७ करोड लिटर पानी  वितरण गर्न सकिन्छ ।

२०७८ वैशाख १५ गते मेलम्चीको पानी पहिलोपल्ट काठमाडौँमा वितरण गरिएको थियो । त्यसको दुई महिना बित्न नपाउँदै असार १ गते आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानमै क्षति पुगेको थियो । बाढी गएको करिब १० महिनापछि २०७९ साल वैशाख ११ गते अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौँ ल्याइएको थियो । बाढीको जोखिमलाई देखाएर सोही वर्ष जेठ महिनामा पानी पथान्तरण बन्द गरिएको थियो ।  

चाहेमा एक सातामा आउँछ : उपभोक्ता

कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा सो पानी एक हप्ता भित्र काठमाडौँ आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताउनुभएको छ  । गौतमका अनुसार ११ करोड ५० लाख ६६ हजार हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हट्नेछ । ‘सरकारले चाह्यो भने यो पानी आउनलाई हप्ता दिन पनि लाग्दैन । हामी अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय धाइरहेका छौँ । खानेपानी मन्त्रालयमा धायौँ । काठमाडौंवासीलाई तुरुन्त पानी खुवाउनुपर्छ भन्ने हाम्रो माग छ ।’’ 

उहाँले भन्नुभयो, ”राज्यले यो कुरा बेलैमा ख्याले गरे हुन्छ । राज्य भनेको हामी उपभोक्ताहरूको अभिभावक हो । हामीले पानी खान पाएनौँ भने कसलाई भन्ने हो ? एक हप्ता भित्र हामीले खानेपानी पिउन पाएनौँ भने अब जनता चुप लागेर बस्ने छैन । राज्यले बेलैमा सोचे हुन्छ ।’’

स्थानीयको अवरोध छैन: पालिका अध्यक्ष  

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनै पनि अवरोध नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “यहाँ अहिले काठमाडौंवासीलाई हेलम्बुको स्थानीयको अवरोधले यहाँ पानी आएन भन्ने गलत सन्देश गइराखेको छ । त्यो होइन ।” अध्यक्ष शेर्पाले स्थानीयसँग गरिएको सम्झौता पूरा नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।