• १२ साउन २०८१, शनिबार

टिकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

blog

दूरबीन शल्य चिकित्सा

टीकापुर (कैलाली), मङ्सिर १३ गते । कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबिन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका-७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

महताको तीन वर्षदेखि पाठेघरमा समस्या थियो । निकै दुः ख झेलिरहेकी महतोले टीकापुरमै दूरबिनको सहायतामा शल्यक्रिया गर्न पाएपछि खुसी हुनुभएको छ । “पेट चिर्नुपर्छ कि भनेर डराएकी थिएँ । टीकापुर अस्पतालमा पेट नचिरेरै शल्यक्रिया हुन्छ भनेर डाक्टरले भनेपछि शल्यक्रिया गर्न तयार भएँ”, उहाँले भन्नुभयो, “समयमै उपचार पाएँ । खुसी लागेको छ । तीन दिनमै हिँडडुल गर्न सक्छु । अस्पताल परिवारलाई धन्यवाद दिन चाहन्छु ।”

महतोका छोरा कृष्णले उपचारका लागि बाहिर जानु नपर्दा सहज भएको बताउनुभयो । “अन्य जिल्लामा उपचारका लागि जानु परेको भए खर्च धेरै हुन्थ्यो । हाम्रो आर्थिक अवस्था कमजोर भएकाले यही उपचार हुँदा सहज भएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा भएकाले उपचार खर्च कम लागेको हो ।”

चिकित्सकका अनुसार सामान्यतया दूरबिनको माध्यमबाट पेट नचिरी सानो-सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक विधि भनिन्छ । अस्पतालमा पहिलो पटक यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सञ्जयकुमार दासले बताउनुभयो । “टीकापुरमा पहिलो पटक शल्यक्रिया गरिएको हो । 

बिरामीलाई करिब तीन वर्षदेखि पाठेघरमा समस्या रहेछ । लामो उपचार गर्दा पनि आराम नभएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको हो”, उहाँले भन्नुभयो, “पेटमा तीन ठाउँमा प्वाल बनाएर शल्यक्रिया गरिएको छ । उहाँलाई शल्यक्रिया गरिएको तीन दिनमै घर पठाएका छौँ ।”

शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा.दास, डा.नारायण पौडेल, एनेस्थेसियोलोजिस्ट डा.अनु शर्मा, सहायक एनेस्थेसियोलोजिस्ट सन्तोषराज जोशी, ममता रावत, स्वास्थ्यकर्मी पुष्प धमला, सुमित्रा पुनमगर, अर्चना शाह, रोशनी पुनमगर, रङ्गीना चौधरीलगायत प्रसूति बार्डका नर्सहरूको टोली खटेको थियो । 

डा.दासले दूरबिनबाट शल्यक्रिया गर्दा छोटो समयमा नै बिरामी घर फर्कन र सामान्य काम गर्न सक्ने हुने तथा कम जोखिम हुने बताउनुभयो । “ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात् दूरबिन शल्य चिकित्सा पद्धतिद्वारा गरिने शल्यक्रिया बिरामीका लागि वरदान साबित भएको छ”, उहाँले भन्नुभयो, “यो विधि बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधि हो ।” रासस