• १२ साउन २०८१, शनिबार

कांग्रेस बैठक आज

blog

काठमाडौँ, मङ्सिर १३ गते । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो । 

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।”

उहाँका अनुसार कांग्रेसको महासमितिको आगामी पुस १६ देखि १९ गतेसम्म हुने महासमिति बैठकलाई केन्द्रित गरी बैठकमा छलफल हुने छ । महासमिति बैठकमा नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक सन्दर्भको प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने छ । नेता विश्वकर्माका अनुसार आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त भए कोषाध्यक्षले नै र नभएमा सभापति देउवाले प्रतिवेदन प्रस्तुत गर्न कसैलाई तोक्नुहुने छ ।

भ्रातृ सङ्घमा अध्यक्ष नियुक्त

नेपाली कांग्रेसले तीन वटा भ्रातृ सङ्गठनको अध्यक्ष मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाल प्रजातन्त्र सेनानी सङ्घको अध्यक्षमा बालकृष्ण दाहाललाई नियुक्त गर्नुभएको छ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाल भूतपूर्वसैनिक सङ्घको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा प्रकाश पन्थलाई नियुक्त गर्नुभएको हो ।

शर्माको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । ८८ वर्षीय नेता शर्माको सोमबार निधन भएको हो । झापा जिल्लाको पूर्वपार्टी सभापतिसमेत रहनुभएका शर्माको कमल गाउँपालिका–५, मङ्गलबारेमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई मङ्गलबार कनकाई नदीमा दाहसंस्कार गरिएको छ । 

कांग्रेसका संस्थापक बिपी कोइरालाका अनुयायी शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका आन्दोलन र सङ्घर्षका व्रmममा पटक पटक गरी छ वर्ष जेल र केही वर्ष निर्वासनमा बस्नुभएको थियो । सभापति देउवाले त्याग, समर्पण र निष्ठावान् राजनीतिज्ञ एवं प्रेरणादायी व्यक्तित्व शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अस्थायी टहरा निर्माण हुँदै

नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास घरटहरा निर्माण अभियान गर्ने घोषणा अनुसार रुकुमपश्चिमको सानोभेरी गाउँपालिका–४ का तीन स्थानमा घरटहरा निर्माण गरिरहेको छ । 

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले तीन स्थानमा अस्थायी घरटहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओली, नेता शिव आचार्यलगायतका नेता तथा पार्टी सदस्य निर्माणमा संलग्न रहनुभएको छ ।