• १२ साउन २०८१, शनिबार

प्रम आज दुबई प्रस्थान गर्नुहुँदै

blog

काठमाडौँ, मङ्सिर १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ । 

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ । 

१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ । उहाँले शुक्रबार सो सत्रलाई सम्बोधन गर्नुहुने जनाइएको छ । उहाँ संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा सहभागी हुनुहुने छ । 

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दी माउन्टेन : हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुहुने भएको छ । सो सत्रमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्र रूपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्नुहुने र हिमालका एजेन्डालाई कोप–२८ मा महत्वका साथ हेर्नका लागि अपिल गर्नुहुने मन्त्रालयले औँल्याएको छ । 

सम्मेलनको साइडलाइन बैठकका रूपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । 

त्यस्तै युएईमा रहनुहुँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तर्क्रिया गर्नुहुने कार्यसूची पनि रहेको छ । त्यहाँ आयोजना हुने नेपाल–युएई व्यापार सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्चाधिकारी सहभागी हुनुहुने छ । नेपाली टोली शनिबार स्वदेश फर्किने छ । सरकारको तर्फबाट सो भ्रमणका लागि आवश्यक सबै तयारी पूरा भएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।